काठमाण्डौ । कर्णाली प्रदेश सभाको बैठक तीन दिनदेखि चल्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी आर्थिक वर्षको बजेटमा आपत्ति जनाउँदै सभा अवरोध गर्दै आएको छ ।
बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै आइतबारदेखि एमालेले बैठक सञ्चालनमा अवरोध गरेको हो ।
बजेटका सन्दर्भमा प्रतिपक्षसँगको ७ बुँदे सम्झौता कार्यान्वयनमा सरकारले बेवास्ता गरेको एमालेको आरोप छ । एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेलले बजेट प्रस्तुत गर्ने विकल्प दिंदा पनि सरकारले अध्यादेशमार्फत् बजेट ल्याएको बताए ।
अध्यादेशबाट बजेट ल्याउँदा पनि आफूहरूले बजेटलाई जनपक्षीय बनाउन सुझाव दिंदा सरकार सहमतिअनुसार अगाडि नबढेको उनले बताए । प्रतिपक्षसँग गरिएको सम्झौताका विषयमा सरकार गम्भीर नदेखिएकै कारण सदन अवरुद्ध गर्नुपरेको एमालेका प्रमुख सचेतक गुलाबजंग शाह बताउँछन् ।
‘हाम्रो एकमात्र माग भनेकै ७ बुँदे सहमति कार्यान्वयन गरिनुपर्छ भन्ने हो । अर्कोकुरा असार १५ भइसक्दा पनि सरकारले धमाधम रकम रकमान्तर गरिरहेको छ । यो हाम्रा लागि मान्य छैन्,’ उनले भने ।
प्रमुख सचेतक शाहले सरकार नै भद्रगोल जस्तो भएको बताए । उनले भने, ‘सरकारले प्रतिपक्षलाई टेरेन । सरकारले प्रतिपक्षसँग गरिएको सम्झौता कार्यान्वयन नगरेसम्म संसद पनि चल्न सक्दैन् ।’
आइतबार अवरूद्ध भएको बैठक सोमबारलाई तोकिएको थियो । तर बैठक सञ्चालनका लागि छलफल जारी रहे पनि मंगलबारसम्म पनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्