बिहान ११:०७ बजे भाइटीकाको उत्तम साइत: दिदीबहिनी पूर्व र दाजुभाइ पश्चिम फर्किनुपर्ने, यस्तो छ पूजा र टीका लगाउने शास्त्रीय विधि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ कार्तिक २०८३, बुधबार
2 Min Read
Aa

काठमाडौं – यमपञ्चकको अन्तिम दिन आज तिहारको मुख्य पर्व भाइटीका देशभर हर्षोल्लासका साथ मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीका लगाउने उत्तम साइत बिहान ११:०७ बजे रहेको छ। आजको दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेहरूका लागि यो समय सबैभन्दा शुभ मानिएको छ।

टीका लगाउँदा फर्किनुपर्ने दिशा
धार्मिक एवं शास्त्रीय मान्यता अनुसार यस वर्ष चन्द्रमा वृश्चिक राशिमा (उत्तर दिशामा) रहने भएकाले शुभ कार्य गर्दा चन्द्रमालाई दाहिने पार्नुपर्ने हुन्छ। सोहीअनुसार भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ।

- Advertisement -
Ad image

भाइटीका लगाउने धार्मिक विधि
१. अष्टचिरञ्जीवी र यमराजको पूजा: टीका लगाउनुअघि लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरिन्छ। त्यसपछि मूल थालीमा अष्टदल लेखेर मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवीको पूजा र यमराजको आह्वान गरिन्छ।

२. ओखर फुटाउने र कालको बाटो छेक्ने: दाजुभाइको दीर्घायुको कामना गर्दै घरको सङ्घार वा ढोकामा ओखर राखेर फुटाउने चलन छ। यसलाई यमराज र कालको बाटो छेक्ने धार्मिक मान्यताका रूपमा लिइन्छ।

३. तेल र पानीको घेरा: दाजुभाइ बसेको ठाउँ वरिपरि दिदीबहिनीले चपरी वा दुबोको सहायताले पानी र तोरीको तेलले घेरा हालेर घेर्ने गर्दछन्।

४. सप्तरङ्गी टीका र माला: दिदीबहिनीले दाजुभाइको निधारमा सुरुमा सेतो अक्षताको आधार बनाएर त्यसमाथि पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिन्छन्। टीका पश्चात् कहिल्यै नओइलाउने मखमली, सयपत्री र दुबोको माला पहिराइन्छ।

५. सगुन र दक्षिणा आदान–प्रदान: पूजा र टीका सकिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटी र मीठा परिकारहरू दिन्छन् भने दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार वस्त्र, उपहार र दक्षिणा दिएर सम्मान एवं आशीर्वाद प्रकट गर्दछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: