काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुईवटा रोमाञ्चक खेलहरू हुँदैछन्। लिगको प्रतिस्पर्धा रोमाञ्चक मोडमा पुगिरहेका बेला आज हुने दुवै खेललाई निकै चासोका साथ हेरिएको छ।
आजको पहिलो खेलमा दिउँसो १२:३० बजे विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर प्रतियोगितामा आफ्नो बलियो स्थान बनाउन दोस्रो जितको खोजीमा मैदान उत्रिनेछ। अर्कोतर्फ, अनिल साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स उत्कृष्ट लयमा देखिएको छ। जनकपुर आफ्नो जितको यात्रालाई लगातार तेस्रो खेलमा पनि कायमै राख्ने दाउमा हुनेछ।
त्यस्तै, आजै हुने दोस्रो खेलमा साँझ ५:०० बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन्। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी अहिलेसम्म अपराजित रहँदै तालिकामा ३ अंक जोडिसकेको छ।
लुम्बिनी आज पनि आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ। अर्कोतर्फ, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले सुरुवाती दुवै खेलमा हार ब्यहोरेकाले आज पहिलो जित दर्ता गर्दै खाता खोल्ने दबाब र दाउमा मैदान उत्रिनेछ।


प्रतिक्रिया दिनुहोस्