काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि कर्णाली याक्सले विश्व क्रिकेटकै एक सर्वोत्कृष्ट तथा विस्फोटक ब्याटर डेभिड मिलरलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ। कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत दक्षिण अफ्रिकी राष्ट्रिय टोलीका अनुभवी फिनिसर मिलरलाई अनुबन्ध गरेको आधिकारिक घोषणा गरेसँगै नेपाली क्रिकेट प्रेमीहरूमा ठूलो उत्साह छाएको छ।
विश्वभर ‘किलर मिलर’ को उपनामले परिचित ३७ वर्षीय यी बायाँहाते मिडिल अर्डर ब्याटर आफ्नो आक्रामक ब्याटिङ र मैदानको जुनसुकै कुनाबाट पनि छक्का प्रहार गर्न सक्ने अद्भूत क्षमताका लागि चर्चित छन्।
कर्णाली याक्समा आबद्ध हुने मिलर छैटौँ विदेशी खेलाडी हुन्। यसअघि नै कर्णालीले पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान, अनुभवी अलराउन्डर हुसेन तलात र स्कटल्यान्डका स्टार अलराउन्डर मार्क वाट जस्ता अन्तर्राष्ट्रिय स्टारहरूलाई आफ्नो टोलीमा भित्र्याइसकेको छ।
कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेका अनुसार अघिल्लो सिजनमा शिखर धवनलाई भित्र्याएर सनसनी मच्चाएको कर्णालीले यसपटक डेभिड मिलर जस्ता विश्वस्तरीय खेलाडीको आगमन गराउँदा नेपाली क्रिकेटको स्तर उकासिनुका साथै देशको पर्यटन प्रवर्द्धनमा समेत ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट र विभिन्न विश्वस्तरीय फ्रेन्चाइज लिगहरूमा मिलरको रेकर्ड निकै लोभलाग्दो छ। हालसम्म ५८४ टी-२० खेल खेलिसकेका उनले ३५.०२ को उत्कृष्ट औसतमा १२,४३५ रन बनाएका छन्, जसमा ४ शतक, ५३ अर्धशतक र ५७० भन्दा बढी छक्का सामेल छन्।
दक्षिण अफ्रिकाका लागि १४० अन्तर्राष्ट्रिय टी-२० खेलमा २,८०४ रन र १८० एकदिवसीय खेलमा ४,७६२ रन बनाइसकेका मिलरसँग इन्डियन प्रिमियर लिग (IPL) मा पञ्जाब किंग्सको कप्तानी गरेको तथा सन् २०२२ मा गुजरात टाइटन्सलाई उपाधि दिलाउन मुख्य भूमिका खेलेको विशाल अनुभव छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुने एनपीएलको यस संस्करणमा नेपाली खेलप्रेमीहरूले मिलरको विस्फोटक ब्याटिङ प्रत्यक्ष हेर्न पाउनेछन्।


प्रतिक्रिया दिनुहोस्