काठमाडौं – सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज शुक्रबारदेखि तीन दिने निजी तथा पारिवारिक भ्रमणका लागि अचानक भारत प्रस्थान गर्ने भएका छन्।
लामिछानेको निजी सचिवालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस भ्रमणबारे औपचारिक जानकारी दिएको हो। सचिवालयका अनुसार यो भ्रमण विशुद्ध आध्यात्मिक तथा पारिवारिक तीर्थाटनका रूपमा तय गरिएको छ।
भ्रमण तालिका अनुसार सभापति लामिछाने धनगढीको बाटो हुँदै भारत प्रवेश गर्ने कार्यक्रम रहेको छ। उनले परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको प्रसिद्ध बाबा नीम करौलीको ‘कैँची धाम’ र आसामको गुवाहाटीस्थित प्रसिद्ध शक्तिपीठ ‘कामाख्या मन्दिर’ मा पुगेर पूजाअर्चना गर्ने कार्यसूची छ।
अचानक तय भएको यो तीन दिने धार्मिक भ्रमण सम्पन्न गरी उनी आईतबार स्वदेश फर्किनेछन्। यसअघि उनी गत जेठ २२ गते भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा गएका थिए।


प्रतिक्रिया दिनुहोस्