काठमाडाैँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन बनायो । नेपालले पहिलो इनिङमा ९ विकेट गुमाएर २८० रन बनाएको थियो ।
ओमानलाई अन्तिम ६ बलमा जीतका लागि २३ रन आवश्यक थियो । तर नेपालले अन्तिम ओभरमा लक्ष्य भेट्टाउन नदिएपछि रोमाञ्चक जीत हात पार्यो ।
जीतसँगै नेपालले विश्वकप लिग–२ को अंकतालिकामा छैटौँ स्थानमा उक्लिने सम्भावना बलियो बनाएको छ ।
तीन नेपाली ब्याटरको अर्धशतक
टस र खेलको अन्य विवरण उपलब्ध नभए पनि नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २८० रन बनाएको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६९ रन बनाए । कप्तान रोहित पौडेल र देव खनालले समान ५७ रनको योगदान दिए । इशान पाण्डेले २९ र बासिर अहमदले १७ रन जोडे ।
ओमानका लागि फैसल शाहले ४ विकेट लिए भने समय श्रीवास्तवले २ र जय ओडेद्राले ३ विकेट हात पारे ।
अन्तिम ओभरमा ओमान चुक्यो
२८१ रनको लक्ष्य पछ्याएको ओमानले ४९ ओभरको समाप्तिमा ७ विकेट गुमाएर २५८ रन बनाएको थियो । त्यसबेला हस्नैन शाह २८ रनमा अविजित थिए ।
ओमानलाई अन्तिम ६ बलमा २३ रन आवश्यक हुँदा नेपालका नन्दन यादव बलिङमा थिए । उनले १० ओभरमा ५५ रन खर्चिएर १ विकेट लिएका थिए ।
अन्तिम ओभरमा ओमानले आवश्यक रन जोड्न नसकेपछि नेपालले १० रनको जीत सुनिश्चित गर्यो ।
शीर्ष ६ को दौडमा नेपालको महत्त्वपूर्ण जीत
नेपालका लागि यो जीत अंकतालिकामा छैटौँ स्थानमा पुग्ने दौडका दृष्टिले महत्त्वपूर्ण छ । यसअघि नेपालले क्यानडा र ओमानलाई हराएको थियो भने शनिबार क्यानडासँग पराजित भएको थियो ।
ओमान विरुद्धको जितले नेपाललाई लिग–२ को शीर्ष ६ मा रहने सम्भावना कायम राख्न मद्दत गरेको छ ।
शीर्ष ६ मा पर्ने टोलीले १ दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने दिशामा महत्त्वपूर्ण अवसर पाउने भएकाले यो नतिजा नेपालको क्रिकेटका लागि अर्थपूर्ण छ ।
नेपालका लागि यो खेल अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने अन्तिम अवसर थियो । जसलाई अन्तिम समयसम्म संघर्ष गरेर जोगाउन सफल भएको छ ।
नेपालसँग क्यानाडा पराजित हुँदा सातौँ स्थानमा धकेलिएको छ । नेपालले यसअघि नै १ दिवसीय विश्वकप छनोट खेल्ने अवसर गुमाइसकेको छ । यद्यपि नेपालले प्लेअफ खेल्ने अवसर पाउने छ ।
लिग–२ को अंकतालिकामा नेपाल ३६ खेलबाट ३० अंक जोड्दै छैटौं स्थानमा छ । यता ओमान ३१ खेलमा ३३ अंकसहित चौथो स्थानमा छ । ओमानले १ दिवसीय विश्वकप छनोटमा आफ्नो स्थान यसअघि नै पक्का गरिसकेको छ ।
नेपालले प्रतियोगिताका सुरुआती २ खेलमा ओमान र क्यानडालाई पराजित गरेको थियो । तर शनिबारको पछिल्लो खेलमा क्यानडासँग हार व्यहोरेपछि नेपालको छैटौँ स्थानमा उक्लिने सम्भावना अन्तिम खेलको नतिजामा निर्भर बनेको थियो । जसलाई नेपालले आफ्नो पक्षमा पारेको छ ।


प्रतिक्रिया दिनुहोस्