काठमाडौँ – सहकारीको बचत रकम अपचलन तथा ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईले अज्ञात स्थलबाट एक प्रेस विज्ञप्ति र अडियो सन्देश सार्वजनिक गरेका छन्।
सञ्चारमाध्यमहरूमार्फत सार्वजनिक भएको उक्त वक्तव्यमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई सहकारी प्रकरणमा नजोड्न आग्रह गरेका छन्।
राईले गोर्खा मिडिया नेटवर्क आफ्नो भएको स्पष्ट पार्दै सहकारीबाट उक्त मिडियामा गएको रकमको सम्पूर्ण कानुनी र आर्थिक जिम्मेवारी आफैँले लिने बताएका छन्। उनले कर्मचारी वा अन्य व्यक्तिहरूबाट अभिलेख राख्ने क्रममा नाम वा कागजातको दुरुपयोग भएको हुन सक्ने भन्दै प्राविधिक विषयलाई लिएर अन्य निर्दोष व्यक्तिहरूलाई अनावश्यक रूपमा विवादमा तान्न नहुने जिकिर गरेका छन्।
विज्ञप्तिमार्फत राईले आफूलाई पक्राउ गर्दैमा लाखौँ बचतकर्ताको अर्बौँ रुपैयाँ फिर्ता नहुने तर्क गर्दै नेपाल फर्किन र कानुनी प्रक्रिया सामना गर्न तयार रहेको सन्देश दिएका छन्। सरकारले आर्थिक मुद्दामा जोडिएका फरार व्यक्तिहरूलाई थुन्नेभन्दा पनि समस्या समाधान गर्ने र बचतकर्ताको रकम सुरक्षित गर्ने वातावरण बनाएमा आफू स्वदेश फर्कन इच्छुक रहेको उनले बताएका छन्।
उनले निश्चित समयभित्र विभिन्न वैकल्पिक उपाय तथा सम्पत्ति व्यवस्थापनमार्फत बचतकर्ताको रकम फिर्ता गर्न आफू प्रतिबद्ध रहेको समेत दोहोर्याएका छन्।


प्रतिक्रिया दिनुहोस्