काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को ड्रिम प्रोजेक्टको रूपमा रहेको नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक रूपमा प्रतियोगिता सञ्चालनको स्वीकृति (स्याङ्सन) पाएको छ। क्यानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म आयोजना हुन लागेको एनपीएललाई आईसीसीले औपचारिक मान्यता दिएको जानकारी गराएको हो।
आईसीसीबाट आधिकारिक टी-२० लिगको मान्यता पाएसँगै नेपाली क्रिकेटमा विदेशी खेलाडी अनुबन्धको नयाँ ढोका खुलेको छ। यसअघि टेस्ट राष्ट्रका बढीमा ४ जना खेलाडी मात्र अनुबन्ध गर्न पाउने सीमा तोकेको आईसीसीले अब भने फ्रेन्चाइज टोलीहरूलाई बिना कुनै बाधा वा सीमा अन्तर्राष्ट्रिय खेलाडीहरू टोलीमा भित्र्याउने बाटो खुल्ला गरिदिएको छ। यसले गर्दा विश्व क्रिकेटका चर्चित नामहरू एनपीएलमा भित्रिने सम्भावना बढेको छ।
यसका साथै, आधिकारिक टी-२० को दर्जा पाएसँगै अब एनपीएलमा खेलाडीहरूले गर्ने प्रदर्शनको रेकर्ड उनीहरूको अन्तर्राष्ट्रिय क्रिकेट करिअरको आधिकारिक तथ्याङ्कमा जोडिनेछ। यस लिगमा बनेका रन र लिइएका विकेटहरू आईसीसीको आधिकारिक रेकर्डबुकमा दर्ता हुने भएकाले प्रतियोगिताको व्यावसायिक र खेलकुद स्तर निकै माथि उठ्ने विश्वास गरिएको छ।
क्यानका सचिव पारस खड्काका अनुसार आईसीसीको यो निर्णयले नेपालको घरेलु क्रिकेट संरचनालाई विश्वभर चिनाउन र एनपीएलको साखलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न ठूलो योगदान पुर्याउनेछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने यस भव्य प्रतियोगिताका लागि हाल मैदानको स्तरोन्नति र पिच निर्माणको काम तीव्र गतिमा भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्