काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको पदाधिकारी निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न मतगणना अनुसार उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ।
निर्वाचन समितिका अनुसार खुला तथा समावेशी तर्फको महत्वपूर्ण प्रतिस्पर्धामा पार्टीका प्रभावशाली नेताहरू निर्वाचित भएका छन्। उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी सर्वाधिक ३,७३५ मत प्राप्त गर्दै विजयी हुँदा त्यस्तै खुला उपसभापतिमै ई. मधु आचार्यले २,३४२ मत ल्याएर विजय हासिल गर्दा समावेशी उपसभापति तर्फ विनोदकुमार चौधरी १,७४५ मतका साथ विजयी भए। चौधरीका निकटतम प्रतिस्पर्धी जीवन परियारले १,६५८ मत प्राप्त गरेका थिए। यसअघि नै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भैसकेका छन्।
त्यसैगरी, पार्टीको नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने महामन्त्री पदको प्रतिस्पर्धा पनि निकै रोचक देखिएको छ। खुला महामन्त्री तर्फ प्रदीप पौडेलले सर्वाधिक ४,१९४ मत प्राप्त गरी पहिलो स्थानसहित विजय सुनिश्चित गर्दा खुलातर्फकै अर्को महामन्त्री पदमा उदयशमशेर राणा २,३३० मतका साथ विजयी भए, जहाँ उहाँका निकटतम प्रतिस्पर्धी डा. सुनिलकुमार शर्माले २,२५७ मत प्राप्त गरे। महिला महामन्त्री तर्फ डा. डिला संग्रौला पन्त ३,११८ मतका साथ विजयी हुँदा भने उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ ले २,८६४ मत प्राप्त गरिन।
यो निर्वाचन परिणामसँगै नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट नयाँ र ऊर्जावान् पदाधिकारी टोली प्राप्त गरेको छ, जसले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछ।


प्रतिक्रिया दिनुहोस्