काठमाडौं – सरकारले भूमि, वन तथा विपद् व्यवस्थापनसँग सम्बन्धित कानुनहरू संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले ती अध्यादेशहरू जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ ।
भोटेकोशी बाढी लगायतका प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको राहत, पुन:स्थापना र व्यवस्थापनलाई मध्यनजर गर्दै विपद्सम्बन्धी अध्यादेश सिफारिस गरिएको छ । अध्यादेशमार्फत बेपत्ता नागरिकलाई मृत घोषणा गर्ने विद्यमान कानुनी व्यवस्थामा पनि महत्त्वपूर्ण संशोधन गर्न लागिएको जनाइएको छ ।
यसअघि कुनै व्यक्ति बेपत्ता भएको १२ वर्षपछि मात्रै मृत घोषणा गर्न पाइने कानुनी प्रावधान रहेकोमा सो अवधिलाई छोट्याउन लागिएको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका शिक्षा तथा खेलकुद मन्त्री तथा प्रवक्ता सस्मित पोखरेलले विपद् तथा अन्य घटनामा बेपत्ता भएका नागरिकका परिवारले भोग्नुपरेको कानुनी तथा आर्थिक जटिलतालाई सहज बनाउन १२ वर्षको समयावधि घटाइएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्