पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा उल्लङ्घनप्रति राष्ट्रिय एकता दलको आपत्ति, दोषीमाथि कारबाहीको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०८३, बुधबार
2 Min Read
Aa

वीरगञ्ज – श्री पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा, परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको भन्दै राष्ट्रिय एकता दल पर्साले दोषीमाथि कडा कारबाही गर्न नेपाल सरकारसमक्ष माग गरेको छ।

राष्ट्रिय एकता दल पर्साकी प्रभारी श्रीमती वंदना शर्माले जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै पशुपतिनाथ मन्दिरको मूल क्षेत्रमा गैर–हिन्दू व्यक्तिहरू प्रवेश गरी भिडियो निर्माण तथा सामाजिक सञ्जालमा प्रसारण गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्।

- Advertisement -
Ad image

ज्ञापनपत्रमा पशुपतिनाथ मन्दिर नेपालको राष्ट्रिय धार्मिक सम्पदा तथा विश्वभरका हिन्दूहरूको प्रमुख आस्थाको केन्द्र रहेको उल्लेख गर्दै सनातनदेखि कायम रहेको मन्दिरको प्रवेश व्यवस्था र धार्मिक मर्यादाको सम्मान गर्नुपर्नेमा जोड दिइएको छ।

दलले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा मुस्लिम समुदायका केही व्यक्तिहरू पशुपतिनाथ मन्दिरको मूल क्षेत्रमा प्रवेश गरेको देखिएको भन्दै उक्त घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ। धार्मिक स्थलको निर्धारित प्रवेश व्यवस्थालाई जानाजानी उल्लङ्घन गरी भिडियो निर्माण तथा प्रसारण गरिएको भए त्यसले धार्मिक आस्था र सामाजिक सद्भावमा समेत प्रतिकूल प्रभाव पार्न सक्ने ज्ञापनपत्रमा उल्लेख छ।

राष्ट्रिय एकता दलले पशुपतिनाथ मन्दिरमा स्पष्ट प्रवेश व्यवस्था हुँदाहुँदै गैर–हिन्दू व्यक्तिहरू कसरी मूल क्षेत्रमा प्रवेश गर्न सफल भए भन्ने विषयमा समेत प्रश्न उठाएको छ। प्रवेशका क्रममा खटिएका सुरक्षाकर्मी तथा पशुपति क्षेत्र विकास कोषका कर्मचारीको भूमिका र सम्भावित लापरबाहीबारे छानबिन गर्न माग गरिएको छ।

ज्ञापनपत्रमार्फत दलले भिडियो निर्माण गरी सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न, कार्यसम्पादनमा लापरबाही गर्ने सुरक्षाकर्मी तथा सम्बन्धित कर्मचारीमाथि छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेको छ।

त्यसैगरी पशुपतिनाथ मन्दिरको सुरक्षा, अनुगमन तथा प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक व्यवस्था गर्न दलले सरकारसँग आग्रह गरेको छ। धार्मिक आस्थामा ठेस पुर्‍याउने तथा धार्मिक अशान्ति फैलाउन सक्ने सामग्रीको सामाजिक सञ्जालमार्फत प्रचारप्रसार रोक्न पनि माग गरिएको छ।

नेपालको सनातन सभ्यता, संस्कृति तथा धार्मिक पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय एकता दलले आफ्ना माग तत्काल सम्बोधन नगरिए सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ। ज्ञापनपत्रमा राष्ट्रिय एकता दल पर्साकी प्रभारी वंदना शर्माले हस्ताक्षर गरेकी छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्