काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबिच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।
विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा वाग्ले र अध्यक्ष बाङ्गाबिच अमेरिकाको वासिङ्टन डीसीमा भेटवार्ता भएको हो।
भेटघाटका क्रममा अर्थमन्त्री डा वाग्लेले हालै रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट क्षति भएका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार र बीमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे घनीभूत छलफल गरे।
अर्थमन्त्री वाग्लेको सचिवालयका अनुसार उक्त अवसरमा विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढी विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमहरूको प्रशंसा गर्दै उनले पूर्वाधारमा लगानी विस्तार र स्वदेशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिए।
अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमलगायतका विकास साझेदारहरूसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिए।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार बितेका तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबिच भएको यो नै पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।
उक्त भेटघाट कार्यक्रममा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमद लगायतका उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस्