काठमाडौँ – काठमाडौँको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको भव्य उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कांग्रेस महाधिवेशन प्रक्रियालाई लिएर रोचक टिप्पणी गरेका छन्। उनले पार्टीभित्र सधैँ कचकच र गनगन गरेर हैरान पार्ने साथीहरूलाई फकाउनुको सट्टा छोडिदिनु नै उत्तम हुने सुझाव दिएका हुन्।
उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा बोल्दै सभापति लामिछानेले कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको प्रकृतितर्फ संकेत गर्दै कांग्रेसको नयाँ नेतृत्व र विशेषगरी गगन थापालाई लक्षित गरी यो धारणा राखेका हुन्। “कहिलेकाहीँ पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा-फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ,” लामिछानेले खुलामञ्चको मञ्चबाटै भने।
उनले कांग्रेसको लामो राजनीतिक इतिहास र योगदानको सम्मान गर्दै पार्टीले अब पुरानो कार्यशैली बदलेर नयाँ पुस्ता र बदलिँदो राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने औंल्याए। इतिहास कांग्रेसको सबैभन्दा ठूलो शक्ति र कमजोरी दुवै भएको टिप्पणी गर्दै उनले विगतका गल्तीबाट पाठ सिकेर नयाँ राजनीतिक यात्रा तय गर्न आवश्यक रहेको धारणा राखे।
ऐतिहासिक राजनीतिक शक्तिहरूले समयमै रुपान्तरणको बाटो समात्न नसके उनीहरूको ऊर्जा आन्तरिक विवादमै सकिने भन्दै उनले कांग्रेसलाई नयाँ संकल्पका साथ अघि बढ्न शुभकामना दिए।


प्रतिक्रिया दिनुहोस्