कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि देउवालाई गगनको निम्तो, नेताहरू पत्र छाडेर निवासबाट फर्किए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ आश्विन २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक निमन्त्रणा पठाएका छन्।

काठमाडौंको खुलामञ्चमा आईतबार आयोजना हुने उद्घाटन सत्रको प्रमुख आतिथ्य ग्रहण गरिदिन र महाधिवेशनको विधिवत् उद्घाटन समेत देउवाकै हातबाट गराउने योजनासहित सभापति थापाले पत्र पठाएका हुन्।

- Advertisement -
Ad image

शनिबार साँझ थापाको निमन्त्रणापत्र बोकेर पार्टीका सह-महामन्त्री योगेन्द्र चौधरी र सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरी चुनदेवीस्थित देउवा निवास पुगेका थिए। देउवाका स्वकीय सचिव भानु देउवासँग फोनमा कुराकानी गरेर निवास पुगे पनि उनीहरू पुग्दा स्वकीय सचिव बाहिरिइसकेकाले नेताहरूबीच प्रत्यक्ष भेट र संवाद हुन भने सकेन।

देउवासँग भेट नभएपछि सह-महामन्त्री चौधरीको टोलीले निवासको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै औपचारिक निमन्त्रणापत्र बुझाएर फर्किएको छ।

विशेष महाधिवेशनपछि पार्टीभित्र उत्पन्न आन्तरिक असमझदारीका कारण देउवा पक्षले यो महाधिवेशन प्रक्रियालाई स्वीकार नगरी मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको पृष्ठभूमिमा, गगन थापाले अन्तिम समयसम्म सहमतिको सन्देश दिन यो कदम चालेका हुन्।

यद्यपि, पूर्वसभापति देउवा आईतबार खुलामञ्चमा हुने उद्घाटन समारोहमा सहभागी हुने वा नहुने भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक टुंगो लागेको छैन। महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपा सभापति रवि लामिछाने लगायतका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरिसकिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्