काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी बैंकको ११औँ वार्षिक बैठकमा सहभागी हुन शनिबार साँझ कतारको राजधानी दोहा प्रस्थान गरेका छन्। कतार एयरवेजको नियमित उडानमार्फत नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ लागेका हुन्।
नेपालका लागि यस पटकको एआईआईबी बैठक विशेष र उपलब्धिमूलक बन्ने अपेक्षा गरिएको छ। यस पटकको वार्षिक बैठकबाट नेपालले एआईआईबीको उपाध्यक्षको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने कार्यक्रम रहेको छ। यो नेपालका लागि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति र प्रभाव बढाउने ठूलो अवसर हो।
मन्त्री वाग्लेले बैठकमा मुख्य गरी गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग र जलवायु वित्त जुटाउने विषयलाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ। नेपाल जलवायुजन्य विपद्को उच्च जोखिममा रहेको र यसको क्षति परिपूर्तिका लागि वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइने मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा भाग लिनुका साथै एआईआईबीका अध्यक्ष, एवं भारत, चीन, बंगलादेश, कतार र माल्दिभ्सका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नेछन। यी भेटवार्ताहरूमा नेपालको पूर्वाधार विकास, नवीकरणीय ऊर्जा, र आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग र लगानी परिचालनबारे विस्तृत छलफल हुनेछ।
प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी छन्। वार्षिक बैठक तथा निर्धारित भेटवार्ताहरू सम्पन्न गरी अर्थमन्त्री नेतृत्वको टोली आगामी असोज १४ गते बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस्