काठमाडौं – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा लगातार तेस्रो दिन पनि गिरावट आएको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.३४ अंकले ओरालो लाग्दै २६२२.४८ विन्दुमा ओर्लेर बन्द भएको छ। बजारमा सुरु भएको सुस्ततासँगै यस दिन कारोबार रकम समेत घटेर ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँमा सीमित भएको छ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार उपसमूह (०.४१ प्रतिशत वृद्धि) बाहेक बाँकी १२ वटा उपसमूहको सूचकमा रातो पोतिएको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहमा सबैभन्दा ठूलो पहिरो गएको छ। यो उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत (१४७.०६ अंक) ले घटेको छ। यस्तै अन्य समूह ०.९७ प्रतिशत र हाइड्रोपावर समूह ०.९२ प्रतिशतले ओरालो लागेका छन्।
यस दिन कुल ३४७ कम्पनीका १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर ५५,२४६ पटक खरिदबिक्री भए। बजारमा तीव्र बिक्री चाप रहँदा कुल २१७ कम्पनीको सेयर मूल्य घटेको छ भने मात्र ५७ कम्पनीको मूल्य बढेको छ। ५ कम्पनीको मूल्य स्थिर रह्यो।
बजार घटे पनि सर्वोत्तम पेन्ट्स लिमिटेड र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टका लगानीकर्ताले करिब १५ प्रतिशत (सकारात्मक सर्किट तह) नाफा कमाएका छन्। मनकामना इञ्जिनियरिङ हाइड्रोपावरको मूल्य ४.७८ प्रतिशतले बढेको छ।
अर्कातर्फ, सगरमाथा जलविद्युत् कम्पनीका सेयरधनीले सर्वाधिक १०.६३ प्रतिशतले गुमाएका छन्। खानीखोला हाइड्रोपावरको मूल्य ९.४० प्रतिशत र उन्नति सहकार्य लघुवित्तको मूल्य ७.४७ प्रतिशतले घटेको छ।
रकमका आधारमा आज सबैभन्दा धेरै ९ वर्षे एग्रिकल्चरल बन्डको ५० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, सोलु हाइड्रोपावरको ३९ करोड १४ लाख रुपैयाँ र खानीखोला हाइड्रोपावरको २५ करोड २६ लाख रुपैयाँको सेयर किनबेच हुँदै शीर्ष स्थानमा रहे। रिलायन्स स्पिनिङ मिल्स र युनाइटेड मोदी हाइड्रोपावर पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्