भोलिदेखि ग्यास वितरण नियमित प्रक्रियाबाटै, उपभोक्ताको विवरण दैनिक बुझाउनुपर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०८३, आईतवार
1 Min Read
Aa
काठमाडौँ – नेपाल आयल निगमले भोलि (सोमबार) देखि खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाअनुसार नै सञ्चालन गर्ने भएको छ। निगमले एक सूचना जारी गर्दै सम्बन्धित ग्यास उद्योगहरूले नियुक्त गरेका आधिकारिक विक्रेता (डिलर) मार्फत साविककै रूपमा ग्यास वितरणको व्यवस्था मिलाइएको जनाएको हो।
नयाँ व्यवस्थाअनुसार ग्यास वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन अबदेखि बिक्रेता वा वितरकले ग्यास खरिद गर्ने उपभोक्ताको नाम र सम्पर्क नम्बर सहितको विवरण दैनिक रूपमा उद्योगलाई बुझाउनुपर्नेछ। उद्योगले उक्त विवरण सोही दिन निगममा पठाउनुपर्ने नियम लागू गरिएको छ।
निगमले ग्यास वितरण गर्दा अति आवश्यक भएका घरायसी उपभोक्ताहरूलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएको छ। साथै, ग्यास ढुवानी र वितरणको सुरक्षा सहजीकरणका लागि गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक समन्वय समेत गरिसकिएको छ।
यसअघि ग्यास अभावका कारण निगमले तोकिएका निश्चित केन्द्रहरूबाट परिचयपत्र अनिवार्य गरेर प्रत्यक्ष ग्यास बिक्री गरिरहेको थियो। भोलिदेखि भने उक्त विशेष व्यवस्था अन्त्य भई बजार पुरानै र सामान्य अवस्थाको वितरण प्रक्रियामा फर्कने छ। निगमले उपभोक्ताहरूलाई आफूलाई पायक पर्ने आधिकारिक विक्रेता कहाँ सम्पर्क गरी सहज रूपमा ग्यास खरिद गर्न अपिल गरेको छ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्