प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीले चल्न दिएनन् संसद

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ जेष्ठ २०८३, मंगलवार
2 Min Read
Aa

काठमाडौं – प्रतिनिधिसभाको बैठक जेठ २५ सम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभा बैठकमा आईतबार प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सीमा विवादको विषयमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध गरेपछि बैठक स्थगित गरिएको हो ।

प्रतिनिधिसभाको मंगलबारको बैठक सभामुख डीपी अर्यालले ६ दिनपछि बस्ने गरी स्थगित गरेका हुन् । मंगलबार बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले बोल्नका लागि समय दिए ।

- Advertisement -
Ad image

सो क्रममा नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले देशका कार्यकारी प्रमुखले सीमाका बारेमा दिएको अभिव्यक्ति राष्ट्रियता बिपरित रहेकाले गम्भीर बिषयमा प्रधानमन्त्रीले माफी माग्दै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । उनले देशका बिषयमा गम्भीर प्रश्न उठेकाले यसलाई टुङ्गोमा नपुराइ बजेटसम्बन्धी छलफल अघि नबढाउन आग्रह गरे ।

त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइ प्रधानमन्त्रीले सत्यतथ्यसहित संसदबाट सम्बोधन गर्नुपर्ने बताए । त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको प्रमुख व्यक्तिले सीमा बिषयमा सदनमा राखेको अभिव्यक्ति अविलम्ब सच्चाउन माग गरे ।

त्यस्तै अन्य बिपक्षी सांसदहरुले पनि उच्चस्तरीय छलफल मार्फत प्रधानमन्त्रीको अभिव्यक्तिको बिषय र विवादलाई टुङ्गोमा पुराउन माग गरेका थिए ।

बिपक्षी दलको अवरोधकाबीच सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि उनीहरुले वेल घेराउ गर्दैै नारावाजी गरेका थिए । त्यसपछि भने सभामुख अर्यालले कार्यसूचीमा रहेका बिषयलाई हटाएर जेठ २५ गते सोमबारसम्मका लागि बैठक स्थगित गरे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्