जनकपुरधाम – नेपाल: जनकपुरमा राष्ट्रिय एकता अभियानले ‘जिहादी आतंकवाद र मधेश-नेपालको सुरक्षा चुनौती’ विषयक एक विशेष बहस कार्यक्रम सुरु गरेको छ। आजबाट जनकपुरको एक सभा कक्षमा सुरु भएको यो कार्यक्रमको मुख्य उद्देश्य आतंकवादविरुद्ध जनचेतना फैलाउनु र नेपालमा बढ्दै गएको सुरक्षा जोखिमबारे गहिरो विमर्श गर्नु हो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले उद्घाटन मन्तव्य दिँदै भारत-नेपाल खुला सिमानाको दुरुपयोग गरी पाकिस्तान समर्थित जिहादी आतंककारी सञ्जालले मधेशलाई ट्रान्जिट क्षेत्र बनाउने प्रयास गरिरहेकोमा गहिरो चिन्ता व्यक्त गर्दै यसले नेपालको राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती थपेको जिकिर गरे ।
कार्यक्रमका विशिष्ट अतिथि तथा संविधान सभा सदस्य भूपेन्द्र चौधरीले नेपालको राज्य संयन्त्र र सुरक्षा निकायहरूलाई अझ बढी सचेत र सक्रिय हुन आवश्यक रहेकोमा जोड दिंदा बहस कार्यक्रममा अभियानका केन्द्रीय सदस्यहरू जितेन्द्र दास, मनीष पुर्वे, दीपू झा, पंकज झा लगायतका साथै विभिन्न क्षेत्रका बुद्धिजीवी, सुरक्षा विश्लेषक र सामाजिक अगुवाहरूको उपस्थिति रहेको छ। वक्ताहरूले मधेशलाई अस्थिर बनाउने बाह्य षड्यन्त्रहरूको भण्डाफोर गर्दै राष्ट्रिय एकता र सुरक्षा सुदृढीकरणका लागि जनस्तरमा थप बहसको आवश्यकता औंल्याएका छन्
यो कार्यक्रम भोलिसम्म चल्ने आयोजकले जानकारी दिएका छन्। कार्यक्रममा सहभागीहरूले जिहादी आतंकवादले मधेश र समग्र नेपालको सुरक्षामा पारेको प्रभावबारे गहन छलफल गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्