काठमाडौं – सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमाले र प्रमुख सत्तारूढ घटक नेपाली कांग्रेसका बिच अर्थ र गृहमन्त्रालय साटफेरको चर्चाका बिच साताको पहिलो कारोबार दिन नै सेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । सेयरबजार मैत्री मानिने एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्रीबाट हटेर नेपाली कांग्रेसका महामन्त्री गगन थापा अर्थमन्त्री बन्ने चर्चाकाबिच नेप्से सूचक ५१.३७ अंकले घट्दा कारोबार रकम पनि घटेको छ अघिल्लो कारोबार दिन बिहीबार ६ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा आज कारोबार रकम ५ अर्ब ९३ करोड रुपैयाँमा सिमित बन्दा नेप्सेमा सूचीकृत सबै समूहका सूचक घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यसअघि अघिल्लो कारोबार दिन पनि नेप्सेमा ३३ अंकको उच्च गिरावट देखिएको थियो ।
लामो समयदेखि साइडवेजमा रहेको बजारमा अघिल्लो सातादेखि नै कहिले सरकार परिवर्तन हुने त कहिले अर्थमन्त्री परिवर्तन हुने चर्चाका कारण सेयर बजार प्रभावित बनिरहेको छ । आजको उच्च गिरावटका दिन फाइनान्स समूहमा ४.४१ प्रतिशतको उच्च गिरावट देखिँदा व्यापार समूहमा तीन प्रतिशतको गिरावट देखिँदा विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत समूहमा २ प्रतिशत बढीको गिरावट देखिँदा बैंकिङ, लगानी, जीवन विमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जिवन बिमा र अन्य समूहमा एक प्रतिशत बढीको गिरावट देखिएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता तथा सस्तो ब्याजदरका बाबजुद अर्थमन्त्री परिवर्तनको चर्चाका कारण ओरालो लागेर २६३० को बिन्दुमा ओर्लिएको बजार अघिल्लो कारोबार दिन र आज पनि उच्च अंकले घटेका कारण बलियो सपोर्ट नजिक पुगेको नेप्से बिस्तारै सम्हालिने हुनाले धैर्यता पूर्वक कारोबार गर्न विश्लेषकहरूले सुझाव दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्