राष्ट्रपति पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरुको भेट: अध्यादेश आए रोकिदिन अनुरोध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ कार्तिक २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

बुधबार अपराह्न शीतल निवासमा उनीहरूले राष्ट्रपति पौडेललाई भेटेका हुन्। विपक्षी दलहरूले यसअघि प्रधानमन्त्री केपी ओलीलाई बुझाएको १३ बुँदे ज्ञापनपत्रको विषय समेत ब्रिफिङ गरेका थिए । सरकारले विपद् व्यवस्थापनको विषयमा ध्यान नदिएको, सत्ता पक्ष र विपक्षी दलहरू मिलेर राष्ट्रिय समस्या समाधान गर्नुपर्ने बेलामा दल विभाजन गर्नतिर उद्धत रहेको लगायत विषयमा राष्ट्रपतिसमक्ष ब्रिफिङ गरिएको छ ।

- Advertisement -
Ad image

राष्ट्रपति पौडेलसँगको भेटमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे तथा आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न अध्यादेश ल्याउन खोजेको आशंका गर्दै उक्त विधेयक आएमा जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय विपक्षी दलहरूले गरेका थिए । यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलहरूका तर्फबाट १३ बुँदे ज्ञापनपत्र बुझाइएको थियो।

विपक्षी दलहरूको समूहमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टी छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्