प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ श्रावण २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौं – प्रतिनिधि सभाको आज आईतबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा २ वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले पदमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

आईतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक राखिएको छ । बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न प्रधानमन्त्री ओलीले साउन ६ गते संघीय संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन् ।

- Advertisement -
Ad imageAd image

नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ को उपधारा (४) बमोजिम त्यसरी नियुक्त गरिएको मितिले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गतेको सहमतिका आधारमा एमालेका अध्यक्ष ओलीले नेपालको संविधानको धारा ७६(२) बमोजिम गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

२ ठूला दलबीचको सहमतिपछि अल्पमतमा परेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असार २८ गतेको संसद् बैठकमा विश्वासमा मत प्राप्त गर्न सकेका थिएनन् । नयाँ प्रधानमन्त्री ओलीको विपक्षमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी रहने स्पष्ट देखिएको छ भने कांग्रेस, एमालेसहित अधिकांश दलले विश्वासको मत दिने देखिएको छ ।

एमालेले आफ्ना अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको विश्वासको मतदान हुने दिन अनिवार्य उपस्थित हुन र पक्षमा मत दिन ह्वीप जारी गरिसकेको छ । सोही विषयमा निर्णय लिन नेपाली कांग्रेस संसदीय दलको बैठक आईतबार बिहान बस्दैछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्