काठमाडौं – नवौं नेपाल फर्मा एक्स्पो, २०२४ आगामी फागुन २५ देखि २७ गतेसम्म चितवनमा सञ्चालन हुने भएको छ। नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चितवनको भरतपुरमा एक्स्पो आयोजना हुने जानकारी गराएको हो।
फागुन २५ देखि २७ गते (मार्च ८ देखि १०) सम्म चितवनमा हुने एक्स्पोमा धेरै किसिमका औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई देखाइनेछ। पत्रकार सम्मेलनमा बोल्दै एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले एक्स्पोमा नेपालमा औषधि उद्योगको दिगोपन र वृद्धिका अगुवाईलाई मुख्य नारा बनाइएको छ।
एक्स्पोमा १५० भन्दा बढी स्टलहरु रहने र यसमा भारत, चीन, बंगलादेश, नेपाल, सिंगापुरका स्टलहरु रहने बताए। नेपालको औषधि उद्योगको सबैभन्दा महत्वपूर्ण दाबी गरिएको एक्स्पोमा ३० हजार भन्दा बढी मानिसको उपस्थिति रहने अपेक्षा आयोजकले गरेको छ। यस वर्षको फर्मा एक्स्पोको नारा ‘नेपालमा फर्मा उद्योगको दिगोपन र वृद्धिका लागि अगुवाई’ भन्ने तय गरिएको छ।
कार्यक्रममा बोल्दै एक्स्पोका संयोजक प्रभात रुंगटाले एक्स्पोमा डेढ सय स्टल रहने र अहिले बुकिङको क्रम जारी रहेको बताए। उनले भारत बाहेक चीन लगायतका औषधि कम्पनीहरुको स्टल १५ वटासम्म रहने र ११० वटा जति स्टल भारतीय औषधि कम्पनीका रहने बताए।
उनले काठमाडौंमा भृकुटीमण्डप मात्रै एक्स्पो सेन्टर रहेको र एक्स्पोका लागि सो समयमा खालि नरहेकाले चितवन रोजेको बताए।
उनले भने, ‘काठमाडौंमा भृकुटीमण्डप मात्रै एग्जिबेसन सेन्टर भयो, त्यो प्याक छ, त्यसपछि बुटवलमा छ, सुदूरपश्चिम पनि गएर गर्नुपर्छ भनेर लागियो तर त्यो सम्भव नभएको देखियो। चितवन भनेको देशकै बीचमा छ। त्यो भएकाले पनि पायक परेको हो।’
प्रत्येक दुई वर्षमा आयोजना गरिने यस एक्स्पोले नेपालका औषधि उद्योगलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। एक्स्पो ज्ञान आदानप्रदानकासाथै सहकार्य, औषधि क्षेत्रको वृद्धि विकासका लागि महत्वपूर्ण हुने आयोजकको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्