भावी सेनापति भनिएका जर्नेलले दिए राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ कार्तिक २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् । भावी सेनापतिको रुपमा चर्चामा आएका जर्नेल पाण्डेले आफूमाथि छानविन भएको थाहा पाएपछि राजीनामा दिएका हुन् । उनले बुझाएकाे राजीनामा रक्षा मन्त्रालयमा पठाइएकाे छ। सैनिक नियम अनुसार उनको राजीनामा सेनापतिले रक्षा मन्त्रालय पठाएर मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्दछ।

प्रधानसेनापति प्रभुराम शर्माले वरियताको आधारमा पाण्डेलाई रथी बढुवाका लागि सिफारिस गरेका थिए । रथी बढुवाका लागि पाण्डेपछि उपरथी अशोक सिग्देल र निर्मल थापा लाइनमा थिए । सिग्देलको समेत पाण्डेको जस्तै जन्ममितिमा कैफियत रहेको सैनिक अधिकारीहरुको दावी छ ।

- Advertisement -
Ad imageAd image

सेनाको युद्धकार्य महानिर्देशक रहेका पाण्डेको रथीमा बढुवा सिफारिस भएपछि उमेर विवादमा आएसंगै विभिन्न निकायमा उजुरी परेको थियो । सेनाले भने विज्ञप्ति नै निकालेर पाण्डेको उमेर विवाद नभएको प्रष्ट पारेको थियो ।

पाण्डे रथीमा बढुवा भएको अवस्थामा भावी प्रधानसेनापति बन्ने बाटोमा थिए । तीनतारे जर्नेल हुनबाट रोक्ने गरी छानविन शुरु गराइएको भन्दै उनले असन्तुष्टीस्वरुप राजीनामा दिएको बताइएकाे छ ।

पाण्डेको राजीनामा स्वीकृतीका लागि रक्षा मन्त्रालयमा पठाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

प्रधानसेनापति शर्माले पाण्डेलाई रथीमा बढुवा गर्न २९ असोजमा ७ दिने सूचना जारी गरेका थिए । त्यो विचमा प्रधानसेनापति शर्मा चीन भ्रमणमा गएर १६ कात्तिकमा स्वदेश फर्केपनि बढुवा भने अघि बढेको थिएन ।

पाण्डेलाई रथीमा बढुवा सिफारिस गरेपछि उनले पदबाट राजीनामा दिएसंगै प्रधानसेनापति शर्मा समेत अफ्ठेरोमा परेका छन् । यसले सेनाको भावी प्रधानसेनापतिको रोलक्रम नै तलमाथि भएको छ । यससंगै उपरथी सिग्देल र थापा शर्मापछि प्रधानसेनापति बन्ने लाइनमा पुगेका छन् ।उपरथी सिग्देलको समेत जन्ममितिमा कैफियत भएकाले उनको बढुवामा समेत यो प्रश्न उठ्ने देखिन्छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्