काठमाण्डौ – संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।
उनलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि सोमबार राती महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर उनको बाटोमै निधन भएको जनाइएको छ ।
शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार उनलाई राती १ः२० बजे अस्पताल ल्याएको थियो । अस्पताल ल्याउँदा नै उनको शरीर चिसो भइसकेको थियो ।
डा. महर्जनका अनुसार, नेता नेम्बाङको ४ः२० मिनेटमा औपचारिकरुपमा निधन भएको अस्पतालले घोषणा गरेको हो ।
अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पुगेका थिए । वाथरुम जाने क्रममा पूर्वसभामुख समेत रहेका नेम्वाङ ढलेको र परिवारका सदस्यले तत्कालै उपचारका लागि अस्पतालमा पुराएका थिए तर उनको बाटोमै निधन भएको थियो ।
डा. महर्जनले भने, ‘‘ हाम्रो अस्पतालको ठूलो टिमले निकै अथक प्रयास गरेको थियो, तर उहाँको बाटोमै निधन भएकाले बचाउन सम्भव भएन ।’’ अहिले शिक्षण अस्पतालमा एमालेका नेता, कार्यकर्ता तथा आफन्तहरूको जम्मा हुने क्रम बढेको छ । नेम्वाङका दुई श्रीमती, दुई छोरा छन् ।
नेम्वाङलाई केहि बर्षअघिदेखि उच्च रक्तचाप र सुगरको समस्या थियो । एमाले उपाध्यक्ष समेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए ।
उनी हाल इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् । त्यस अघि पनि इलामबाट निर्वाचित हुँदै आएका थिए । नेम्वाङ् शालिन शान्त नेताका रुपमा चिनिन्थे ।


प्रतिक्रिया दिनुहोस्