पारस बाहेक परिवारका सदस्यसहित पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड भ्रमणमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ असार २०८०, बुधबार
2 Min Read
Aa

वर्तमान राजनीतिलाई परै बसेर नियाली रहेका पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल र परिवारका अन्य सदस्यसहित आज थाइल्याण्ड जाँदैछन्।

पूर्वयुवराज्ञी हिमानी शाह भने सोमबार नै थाइल्याण्ड प्रस्थान गरिसकेकी छन्। पूर्वराजा शाहले पूर्वयुवराज पारसबाहेक परिवारका अन्य सदस्यलाई आफूँसँगै लैजाने तय भएको छ।

- Advertisement -
Ad imageAd image

निर्मल निवास स्रोतका अनुसार पूर्वराजा शाह स्वास्थ्य उपचारको लागि थाइल्याण्ड जान लागेका हुन्। स्रोतले थाइल्याण्डमा पूर्वराजाको अन्य कुनै राजनीति भेटघाटको कार्यक्रम नरहेको जनाएको छ।

तर पछिल्लो समय पूर्वराजा शाह वर्तमान व्यवस्थाप्रति खुलेर बोल्न थालेका छन् र पुन शक्तिमा फर्किने अवसरको खोजीमा रहेको चर्चा चल्ने गरेको छ।

देशभित्रै पनि उनी नागरिक अभिनन्दन र मठ मन्दिरको दर्शन गर्ने भन्दै बेला बेलामा देश दौडाहामा निस्किने गरेका छन्। केही समय अगाडि भारत भ्रमणमा गएका पूर्वराजाको थाइल्याण्ड भ्रमणलाई महत्वका साथ हेरिएको छ।

वर्तमान व्यवस्थाप्रति नागरिकस्तरमा बढ्दो असन्तुष्टि र हजार राजा भन्दा एउटै राजा राम्रो भन्ने नागरिकको बुझाइप्रति उत्साहित बनेका पूर्वराजा शाह पछिल्लो समय सक्रिय बन्दै गएका छन्।

मुलुकको शासन व्यवस्थामा सुधार आवश्यक रहेको भन्दै संविधान संशोधनकोसमेत चर्चा हुने गरेका बेला त्यही मौकालाई उपयोग गरेर पुन शक्तिमा फर्किने चाहना पूर्वराजामा देखिन्छ।

नेपालको केन्द्रीय सत्तामा एकपछि अर्को अस्थिरताका घटना हुनु, यी सबै अस्थिरतामा भारतकै भित्री हात हुनु, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र अन्य गठबन्धनका नेताहरु भारतीय इशारामा सत्ताको गठजोडमा संलग्न हुनु र फेरि पनि थप अस्थिरताकै संकेतहरु देखिनुले पूर्वराजालाई भारतसँग सहकार्य गरेर पुन गद्दीमा फर्किन सकिन्छ कि भन्ने हिम्मत पलाएको हुनसक्ने बताइएको छ।

नेपालमा शाहवंशले २४० वर्ष शासन गरेको थियो। २०६३/६३ को जनआन्दोलनबाट पुनस्र्थापना भएको संसद्ले गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाहले गद्दीत्याग गरेका थिए। उनी शाहवंशका अन्तिम राजा हुन्।

गणतन्त्र घोषणापछि पत्रकार सम्मेलन गरेरै गद्दी त्यागेका ज्ञानेन्द्र शाह पछिल्लो सयम चटपटाउन थालेका छन् । उनी नेपालको अस्थिरतामा कतै व्यवस्था परिवर्तन गर्न पो सकिन्छ कि भनेर दौडधुप गरिरहेको हुन सक्ने विश्लेषण हुन थालेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्