रुपन्देही– रुपन्देहीको सैनामैना गाउँपालिका १० मा झारफुक गर्ने क्रममा किशोरीको मृत्यु भएपछि दाहसस्कार गर्ने स्थानीय १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कान दुखेर बिरामी भएकी १४ वर्षीया सीता ज्ञवालीलाई झारफुक गर्ने भनेर यातना दिएपछि मृत्यु भएको हो । माताका रूपमा परिचित स्थानीय २२ वर्षीया सोनिया रेश्मीले यातना दिएपछि फागुन २० गते राति साढे ९ बजे उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
यातनाकै कारण सीताको मृत्यु भएपछि उनका परिवार स्थानीयले राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर दाहसंस्कार गरी घटना गुपचुप राखेको प्रहरीको भनाइ छ ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा सोनियाले सीतालाई भुइँमा घोप्टो पारी लडाउने, शरीरमा बस्दै गालामा थप्पड हान्ने, टाउकोदेखि पानी खन्याइदिने, मुखमा थुक्दै खरानी खुवाउने जस्ता यातना दिएको देखिन्छ । भिडिओ सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय, सालझण्डीको टोलीले सोनियालाई नियन्त्रणमा लिएको थियो।
घटनाको अनुसन्धानका लागि मृतकका बुवासहित घटना हुँदा उपस्थित र दाहसंस्कारमा संलग्न १७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। पक्राउ पर्नेहरूको विवरण सार्वजनिक नगरिए पनि उनीहरू आफन्त र एकै गाउँका व्यक्तिहरू रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका निमित्त प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुँवरले घटनाबारे अनुसन्धान भइरहेको बताए। मृतककी आमा लीला ज्ञवालीले १२ गतेदेखि कानको बिरामी भएकी छोरीलाई दुई पटकसम्म मेडिकल लगेर उपचार गराउँदा समेत सञ्चो नभएपछि केही व्यक्तिको सल्लाहमा झारफुकका लागि माताकहाँ लगेको बताइन्।
झारफुक गर्ने क्रममा मृत्यु भएपछि स्थानीय १७ जना प्रहरी नियन्त्रणमा

प्रतिक्रिया दिनुहोस्