एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै, विराटनगरलाई जित्नैपर्ने दबाब

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ कार्तिक २०८३, शनिबार
2 Min Read
Aa
काठमाडौँ – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत लिग चरणको अन्तिम तथा निर्णायक खेलमा आज (शनिबार) विराटनगर किङ्स र साविक विजेता लुम्बिनी लायन्सबिच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुकी ५:०० बजे सुरु हुने यस खेलमा प्लेअफ समीकरणका हिसाबले विराटनगर किङ्सलाई जित्नैपर्ने तीव्र दबाब छ भने प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनी लायन्स शीर्ष स्थानमा उक्लिँदै पहिलो क्वालिफायर खेल्ने लक्ष्यमा हुनेछ।
लिग चरणका ६ खेलबाट ३ जित र ३ हारसहित ६ अङ्क जोडेर अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको विराटनगरका लागि आजको भिडन्त ‘गर या मर’ सरह रहेको छ। आजको खेलमा विजयी भएमा विराटनगर ८ अङ्कसहित शीर्ष चारमा उक्लिनेछ र अन्य खेलको नतिजामा निर्भर रहँदै प्लेअफमा पुग्ने सम्भावनालाई जीवित राख्नेछ। पराजित भएमा भने सन्दीप लामिछानेको टोलीको यात्रा लिग चरणबाटै समाप्त हुनेछ। अघिल्लो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका कप्तान सन्दीप लामिछानेको घातक स्पिन बलिङ र लोकेश बम तथा बसिर अहमदको लय विराटनगरका लागि मुख्य हतियार हुनेछन्।
अर्कोतर्फ, ६ खेलबाट ४ जित, १ हार र १ नतिजाविहीन खेलसहित ९ अङ्क जोडेर दोस्रो स्थानमा रहेको लुम्बिनी लायन्स दबाबरहित भएर मैदान उत्रिनेछ। आजको खेलमा जित निकालेमा लुम्बिनी ११ अङ्कसहित सुदूरपश्चिम रोयल्सलाई पछि पार्दै अङ्क तालिकाको शीर्ष स्थानमा पुग्नेछ। शीर्ष दुईमा रहने टोलीले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल्ने अवसर पाउने भएकाले कप्तान रोहित पौडेलको टोली कुनै कसर बाँकी नराख्ने दाउमा छ। लुम्बिनीका लागि कप्तान रोहितसँगै मार्क वाट, सन्दीप जोरा र आसिफ शेखको प्रदर्शन निर्णायक बन्न सक्छ।
एनपीएलको इतिहासमा यी दुई टोलीबिच हालसम्म भएका तीन भिडन्तमा लुम्बिनी हाबी देखिएको छ। जसमा लुम्बिनीले २ खेल जित्दा विराटनगरले १ खेलमा मात्र सफलता हात पारेको छ। पछिल्ला दुवै खेलमा लुम्बिनीसँग पराजित भएको विराटनगर आज बदला लिँदै आफ्नो प्लेअफ आशालाई कायम राख्ने योजनामा हुनेछ भने त्रिवि मैदानको स्पिनमैत्री पिचमा दुई उत्कृष्ट स्पिन आक्रमणबिचको प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा गरिएको छ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्