सुदूरपश्चिम प्लेअफमा पुग्दा जनकपुर र कर्णाली बाहिरिए, स्पिनको दबदबा र कम स्कोरले खल्लो बन्दै एनपीएल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ कार्तिक २०८३, शुक्रबार
4 Min Read
Aa

काठमाडौँ – काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएका दुवै खेलमा कम स्कोरको दबाब र स्पिन बलरहरूको पूर्ण दबदबा देखिएको छ।

दिनको पहिलो खेलमा काठमान्डु गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ भने दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै चितवन राइनोजले आफ्नो प्लेअफ आशालाई बलियो बनाएको छ। चितवनको यस सङ्घर्षपूर्ण जितसँगै पराजित जनकपुर बोल्ट्स र कर्णाली याक्स दुवैको प्लेअफ पुग्ने गणितीय सम्भावना औपचारिक रूपमै समाप्त भएको छ।

- Advertisement -
Ad image

शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले १२६ रनको सामान्य लक्ष्य रक्षा गर्दै रोमाञ्चक जित निकाल्यो। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २.३ ओभरमा मात्र ८ रन जोड्दा ४ विकेट गुमाए पनि कप्तान दीपेन्द्रसिंह ऐरीको ५५ बलमा ६० रनको सङ्घर्षपूर्ण अर्धशतक र थारिन्दु रत्नायकेको अविजित २६ रनको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको काठमान्डुले राशिद खानको अविजित ३५ रनका बाबजुद निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमका स्पिनर अनिल खरेलले २ तथा थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले कसिलो बलिङ गर्दै काठमान्डुका ब्याटरलाई रन जोड्नबाट रोकेका थिए।

दिनको दोस्रो खेल झनै कम स्कोरमा सीमित रह्यो, जहाँ चितवन राइनोजले जनकपुर बोल्ट्समाथि ४ विकेटको सङ्घर्षपूर्ण जित दर्ता गर्‍यो। टस जितेर ब्याटिङ रोजेको जनकपुर चितवनका स्पिनरहरूसामु निरीह बन्दै २० ओभरमा ९ विकेट गुमाएर मात्र ८८ रनमा समेटियो। जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन जोडे भने चितवनका देब्रेहाते स्पिनर रञ्जित कुमारले ३ ओभरमा १ मेडनसहित मात्र २ रन खर्चेर ३ विकेट तथा कप्तान सिकन्दर राजा र कामिल मिश्राले २-२ विकेट लिए।

८९ रनको झिनो लक्ष्य पछ्याएको चितवनले पनि जनकपुरका स्पिनर राहुल यादव (३ विकेट) र हरमित सिंह (२ विकेट) को धारिलो बलिङको सामना गर्दै १७.२ ओभरमा ६ विकेट गुमाएर मात्र लक्ष्य पूरा गर्न सक्यो। चितवनको जितमा डेविड मलानले अविजित ३५ रनको संयमित इनिङ्स खेले।

शुक्रबारका नतिजाहरूले अङ्क तालिकाको समीकरणलाई निकै रोचक मोडमा पुर्‍याएको छ। लिग चरणका सबै खेल सकाएको सुदूरपश्चिम १० अङ्कसहित शीर्ष स्थानमा उक्लिएर प्लेअफमा पुग्दा यसअघि नै छनोट भइसकेको लुम्बिनी लायन्स ९ अङ्कसहित दोस्रो स्थानमा छ। काठमान्डु गोर्खाज ६ खेलबाट ८ अङ्कसहित तेस्रो र चितवन राइनोज ६ खेलबाट ७ अङ्क जोड्दै चौथो स्थानमा उक्लिएका छन् भने ६ अङ्क रहेको विराटनगर किंग्स पाँचौँ स्थानमा झरेको छ। अब बाँकी २ प्लेअफ स्थानका लागि काठमान्डु, चितवन र विराटनगरबिच त्रिपक्षीय भिडन्त हुनेछ।

अर्कोतर्फ, सबै ७ खेल खेलेको जनकपुर र ६ खेल खेलेको कर्णाली समान ४-४ अङ्कमा सीमित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् भने पोखरा एभेन्जर्स यसअघि नै बाहिरिसकेको छ।

लगातार कम स्कोरका खेलहरू हुन थालेपछि त्रिवि क्रिकेट मैदानको पिच र प्रतियोगिताको रोमाञ्चकतामाथि गम्भीर प्रश्न उठ्न थालेको छ। टी-२० क्रिकेटको मर्मविपरीत पछिल्ला पाँच खेलमा बनेको उच्चतम योगफल नै मात्र १३२ रन रहेको छ, जसमा शुक्रबारका चारै इनिङ्समा स्पिनरहरूको हाबी हुँदा ब्याटरहरू रन जोड्न सङ्घर्षरत देखिए।

८९ रनको सानो लक्ष्य पूरा गर्नसमेत १७ ओभरभन्दा बढी समय लाग्नु र बल ब्याटमा सहजै नआउनुले चौका-छक्काको वर्षा हेर्न मैदान पुगेका समर्थकहरूका लागि एनपीएलका पछिल्ला खेलहरू खल्लो र बोरिङ बन्दै गएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्