काठमाडौँ – प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित लामिछाने निवासमा बुधबार झण्डै चार घण्टा लामो गोप्य भेटवार्ता भएको छ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसहित बुधबार बिहान सवा १० बजे रवि निवास पुगेका प्रधानमन्त्री बालेन दिउँसो सवा २ बजेसम्म छलफलमा व्यस्त रहेको बुझिएको छ। दुई शीर्ष नेताहरूबीचको यो लामो संवादका कारण बुधबार बस्ने तय भएको मन्त्रिपरिषद् बैठक समेत बिहीबारका लागि सारिएको स्रोतले जनाएको छ।
भेटवार्तामा मन्त्रिपरिषद्बाट ल्याउन लागिएका केही संवेदनशील राजनीतिक निर्णय, नयाँ अध्यादेश र प्रहरी महानिरीक्षक (IGP) दानबहादुर कार्कीको विषयसहित महत्वपूर्ण राजनीतिक नियुक्तिहरूका बारेमा सघन छलफल भएको बुझिएको छ।
यसका साथै, आईतबार मध्यराति मात्रै भारतको व्यक्तिगत भ्रमण पूरा गरी काठमाडौँ फर्किएका सभापति लामिछानेले आफ्नो भ्रमणका सन्दर्भमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए। मंसिरको पहिलो साता प्रधानमन्त्री बालेन शाह आफैँ नयाँ दिल्ली भ्रमणमा जाने तयारीमा रहेकाले यस भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध ‘रिसेट’ गर्ने र आगामी भ्रमणको रणनीतिक तयारीबारे महत्वपूर्ण कुराकानी भएको छ।
प्रधानमन्त्रीको सचिवालय र रास्वपा दुवैले यस भेटघाटका विषयमा आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक नगरे पनि यसलाई सत्ता साझेदार दलभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी सरकारी रणनीतिका दृष्टिकोणले निकै अर्थपूर्ण रूपमा हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्