‘रिल’ र ‘लाइक’को राजनीतिले देशका समस्या समाधान हुँदैन: गगन थापा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ आश्विन २०८३, सोमबार
3 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालमा केन्द्रित सतही राजनीतिले मुलुकका वास्तविक समस्या समाधान गर्न नसक्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा सम्बोधन गर्दै थापाले अहिलेको राजनीति ‘रिल’ र ‘लाइक’मा केन्द्रित हुँदै गएको भन्दै त्यसबाट देशले निकास नपाउने बताएका हुन्।

उनले नेपालको समस्या सामान्य वा क्षणिक नभई ऐतिहासिक, संरचनात्मक र बहुआयामिक रहेको बताए। सामाजिक सञ्जालमा लोकप्रिय बन्ने प्रयासभन्दा देशका जटिल समस्या समाधान गर्न राजनीतिक दल र नेतृत्वले गम्भीरतापूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो।

- Advertisement -
Ad image

“अहिले राजनीति सबै केमा छ भन्दा रिलमा छ, लाइकमा छ। तर यसले हाम्रो समस्याको हल गर्दैन। हाम्रो समस्या ऐतिहासिक छ, संरचनात्मक छ र बहुआयामिक छ,” थापाले भने।

थापाले मुलुकमा बढ्दै गएको सामाजिक तथा आर्थिक असमानताप्रति पनि चिन्ता व्यक्त गरे। एकातिर सुकुम्बासी तथा घरबारविहीन नागरिकको दयनीय अवस्था रहेको र अर्कोतिर राम्रो शिक्षा हासिल गरेका युवाहरूले समेत आफ्नो भविष्यबारे प्रश्न गर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए।

उनका अनुसार समाजमा देखिएको यो गहिरो खाडललाई सामाजिक सञ्जालमा गरिने चर्चा वा तत्कालीन लोकप्रियताका नाराले मात्रै सम्बोधन गर्न सकिँदैन। राजनीतिक नेतृत्वले समस्याको सतही उपचारभन्दा पनि त्यसको मूल कारण पहिचान गरेर दीर्घकालीन समाधान खोज्नुपर्नेमा उनले जोड दिए।

थापाले राजनीतिक नेतृत्वले मुलुकको मूल रोग पहिचान गरेर उपचार गर्नुभन्दा लक्षणमा मात्रै केन्द्रित हुने प्रवृत्ति देखिएको टिप्पणी गरे। ज्वरो आएको अवस्थामा ज्वरो घटाउने प्रयास मात्र गरेर रोगको मूल कारण पत्ता लगाउन नसकिएजस्तै राजनीतिक समस्याको सतही समाधानले मुलुकलाई स्थायी निकास दिन नसक्ने उनको भनाइ थियो।

उनले नेपाली कांग्रेसलाई केवल सत्ता प्राप्तिका लागि प्रतिस्पर्धा गर्ने राजनीतिक दलका रूपमा सीमित गर्न नहुने बताए। कांग्रेसले आफूलाई जनताका वास्तविक समस्या समाधान गर्ने राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने उनको धारणा थियो।

कुनै पनि राजनीतिक दलको परिचय र हैसियत निर्वाचन तथा जनमतबाट निर्धारण हुने उल्लेख गर्दै थापाले जनताको विश्वास जित्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नुपर्ने बताए। जनताका समस्या बुझ्ने, समाधानको दृष्टिकोण प्रस्तुत गर्ने र त्यसलाई कार्यान्वयन गर्ने क्षमता विकास गर्न सके मात्रै राजनीतिक दलले आफ्नो राष्ट्रिय भूमिका बलियो बनाउन सक्ने उनको भनाइ थियो।

थापाले कांग्रेसलाई सत्ताको खेलभन्दा माथि उठाएर जनताको भरोसायोग्य सामाजिक तथा राजनीतिक आन्दोलनका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। मुलुकको बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिलाई सम्बोधन गर्न कांग्रेसले आफ्नो भूमिका र कार्यशैलीमा समेत परिवर्तन गर्नुपर्ने उनले बताए।

उनले युवामा बढिरहेको निराशा, आर्थिक असमानता र सामाजिक विभाजनलाई सम्बोधन गर्न राजनीतिक दलहरूले दीर्घकालीन नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए। तत्कालीन लोकप्रियता र सामाजिक सञ्जालको चर्चाभन्दा जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने कामलाई प्राथमिकता दिनुपर्ने थापाको जोड थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्