काठमाडौं – साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजार परिसूचक (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ। अघिल्लो हप्तादेखिको शिथिलता कायम रहँदा आज नेप्से सूचक २०.४८ अंक (०.७९ प्रतिशत) ले ओरालो लागेर २ हजार ५६६.७६ विन्दुमा बन्द भएको हो।
बजार खुलेसँगै देखिएको बिक्री चापका कारण परिसूचक निरन्तर घट्दा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा पुगेका छन्। सूचकसँगै बजारको कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। गत शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज सोमबार कारोबार रकम घटेर ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज दिनभर ३५९ कम्पनीका ९० लाख ३ हजारभन्दा बढी कित्ता सेयर कुल ४४ हजार ७७७ पटक किनबेच भएका छन्। बजार राताम्मे बन्दा कारोबारमा आएका १३ वटै उपसूचकहरू ऋणात्मक रहे।
बजारमा कुल २४२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ३२ वटा कम्पनीको सेयर मूल्यमा मात्र सामान्य सुधार आएको छ र ४ कम्पनीको मूल्य स्थिर रहेको छ। आजको गिरावटसँगै बजारको कुल पूँजीकरण घटेर ४४ खर्ब १५ अर्ब रुपैयाँमा कायम भएको छ। उपसूचकहरूमध्ये उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, र जीवन बीमा समूहमा बढी दबाब देखिएको छ।


प्रतिक्रिया दिनुहोस्