काठमाडौँ – प्रधानमन्त्री बालेन शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा आफूमाथि गरिएका राजनीतिक टिप्पणीप्रति निकै कडा र व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्। काठमाडौँको खुलामञ्चमा आयोजित कांग्रेस महाधिवेशनको भव्य उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री शाहलक्षित कटाक्ष गरेपछि उनले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन्।
प्रधानमन्त्री शाहले आईतबार साँझ आफ्नो आधिकारिक फेसबुक पेजमा संक्षिप्त तर चोटिलो स्टाटस लेख्दै भनेका छन्— “धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्!” उनले कांग्रेस सभापति गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई ‘नयाँ पार्टी’ भन्दै रोचक व्यङ्ग्य समेत कसेका छन्।
काठमाडौँ महानगरपालिकाको नेतृत्वमा रहँदा बालेनले खुलामञ्चको स्तरोन्नति र व्यवस्थापनका लागि लामो समय यसलाई सर्वसाधारण र सभा-समारोहका लागि बन्द गराएका थिए। लामो अन्तरालपछि खुलामञ्चमा पहिलोपटक नेपाली कांग्रेसले ऐतिहासिक रूपमा आफ्नो १५औँ महाधिवेशनको खुला सत्र आयोजना गरेको हो।
महाधिवेशनको मञ्चबाटै नेताहरूले महानगर र प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएका थिए, जसको काउन्टरमा बालेनले आफूले मञ्च व्यवस्थित बनाइदिएकै कारण नेताहरूलाई भाषण गर्न सजिलो भएको भन्दै कटाक्ष गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्