११ वर्षपछि एमाले राजनीतिमा विद्या भण्डारीको पुनरागमन, ‘वरिष्ठ नेता’ चयन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ आश्विन २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (एमाले) को सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमन भएको छ। ललितपुरको भनिमण्डलमा जारी एमाले केन्द्रीय कमिटी बैठकले पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई पार्टीको ‘सम्मानित वरिष्ठ नेता’ मनोनित गर्ने सचिवालयको प्रस्तावलाई अनुमोदन गरेको छ। यस निर्णयसँगै उनी पार्टीको वरियता क्रममा अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो स्थानमा रहनेछिन्।

पार्टीभित्र नेतृत्व पुनर्गठनको बहस चलिरहेका बेला अध्यक्ष ओलीले भण्डारीलाई भदौ २६ गते बालुवाटारमा भेटेर साढे दुई घण्टा छलफल गरेपछि यो राजनीतिक समीकरण बनेको हो। सचिवालय बैठकमा भण्डारीको अनुभव र कदका कारण उनलाई विशुद्ध पार्टी सदस्य मात्र बनाएर राख्न उपयुक्त नहुने निष्कर्ष निकाल्दै वरिष्ठ नेताको जिम्मेवारी सुम्पिने प्रस्ताव गरिएको थियो। राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष रहेकी भण्डारी ११ वर्षपछि पुनः मूल नेतृत्व तहमा फर्किएकी हुन्।

- Advertisement -
Ad image

यसैगरी, सोही केन्द्रीय कमिटी बैठकमा एमालेले संगठनात्मक संरचना सुदृढ बनाउन २८ जना नयाँ केन्द्रीय सदस्यहरू समेत मनोनित गरेको छ। मनोनित हुनेहरूमा देवराज घिमिरे, बिमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, काशीनाथ अधिकारी, र मोहमद इस्तियाक राई लगायतका नेताहरू रहेका छन्। भण्डारीको यो पुनरागमनलाई एमालेभित्रको आन्तरिक संकट व्यवस्थापन र आगामी राजनीतिक कार्यभारका दृष्टिले निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्