सेयर बजारमा ‘ब्रेक’: ३६.२५ अंकको गिरावटसँगै नेप्से २६१८ विन्दुमा, नाफा सुरक्षित गर्नेको होडबाजी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०८३, बुधबार
2 Min Read
Aa

काठमाडौँ – गत सातादेखि लगातार उकालो लागिरहेको धितोपत्र बजार (नेप्से) मा बुधबार भने ३६.२५ अंकको ठूलो गिरावट आएको छ। कारोबार सुरुवाती चरणमा सकारात्मक देखिए पनि अन्तिम समयमा बिक्री चाप बढ्दा नेप्से परिसूचक १.३६ प्रतिशतले घटेर २,६१८.०३ विन्दुमा ओर्लिएको हो। बजार विश्लेषकहरूका अनुसार अर्थ मन्त्रालयको नयाँ नीतिपछि लगातार बढेको बजारबाट लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न खोज्दा बजार ओरालो लागेको हो।

परिसूचकसँगै यस दिन कारोबार रकममा पनि केही गिरावट आएको छ। मंगलबार ७ अर्ब माथिको कारोबार भएको बजारमा बुधबार ६ अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो। दिनभर भएका ५७,९४७ कारोबारमार्फत ३५२ कम्पनीका २ करोड १६ लाख कित्ता सेयर साटासाट भएका छन्। बजारमा आज कुल २५३ कम्पनीको सेयर मूल्य घट्दा जम्मा २३ कम्पनीका लगानीकर्ताले मात्र कमाउन सफल भए।

- Advertisement -
Ad image

आज बजारका सबै १३ वटै उपसमूहको सूचक ऋणात्मक रही बजार पूर्ण रूपमा राताम्मे बन्यो। जसमा जीवन बीमा उपसमूह सबैभन्दा बढी २.०४ प्रतिशतले ओरालो लाग्यो भने जलविद्युत १.६६ प्रतिशत तथा बैंकिङ र विकास बैंक क्रमशः १.२२ र १.३६ प्रतिशतले घटे।

बजार घट्दा पनि धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने १५ प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो। अर्कोतर्फ, फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक ८.५४ प्रतिशत गुमाए। कारोबारका आधारमा शिवम् सेमेन्ट अग्रस्थानमा रहँदै रु ३८ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार गर्न सफल भयो। बजार विज्ञहरू यस गिरावटलाई बजारको नियमित ‘करेक्सन’ का रूपमा लिँदै आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्