काठमाडौं – संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दैछ। अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
आजको प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका, लैंगिकक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
यसैगरी, प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछिन्।
अर्कातर्फ, अपराह्न १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यक्रम तय भएको छ। सोही बैठकमा मन्त्री चौधरीले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यसका साथै, आजै संसद्का कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठकसमेत बस्दैछ।


प्रतिक्रिया दिनुहोस्