काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर दसैँ र तिहारलगत्तै सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी तथा ट्रेड युनियनमाथि दमन, ज्यादती र अत्याचार सुरु गरेको आरोप लगाएका हुन्। सरकारका यस्ता गतिविधिविरुद्ध व्यापक प्रतिवाद आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले संसद्भित्रका सबै प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने कार्य भइरहेको र संसद् बाहिर रहेका असन्तुष्ट विभिन्न समूहहरूलाई समेत समेटेर आन्दोलनको तयारी भइरहेको जानकारी दिए।
आगामी ठूला चाडपर्वको अवधिभर तयारीका कामहरूलाई तीव्रता दिइने र चाडपर्वपछि प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध एउटा नयाँ आन्दोलन सृष्टि गरिने उनको भनाइ छ। सरकारका गतिविधि र कार्यशैलीका कारण जनतामा रहेको भ्रम क्रमशः हट्दै गएको जिकिर गर्दै प्रचण्डले स्थापित राजनीतिक दल, नेता र उनीहरूको एजेन्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको दाबी समेत गरे।
सम्पूर्ण नेता-कार्यकर्ताहरूलाई प्रतिक्रान्तिलाई परास्त गर्दै क्रान्तिलाई नयाँ उचाइमा उठाउन आह्वान गर्दै उनले जनतामाझ पुगेर वास्तविक अवस्था बुझाउन सके आफ्नै नेतृत्वको आन्दोलनमा जनता स्वतः सडकमा आउने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्