काठमाडौँ – तीन दिने औपचारिक भ्रमणका लागि भारत पुगेका नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित भारतीय वित्त मन्त्रालयमा बिहीबार अपराह्न भएको उक्त भेटवार्तामा दुई देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा गहन छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
भेटका क्रममा दुई अर्थमन्त्रीबीच नेपालमा हालै निम्तिएको विनाशकारी बाढीपहिरो तथा प्राकृतिक विपद्पछिको पुनर्निर्माणमा द्विपक्षीय सहकार्य गर्नेबारे विशेष छलफल भएको थियो। यसका साथै नेपाल र भारतबीचको दीर्घकालीन आर्थिक तथा विकास सहकार्य, व्यापार सहजता, आपसी लगानी वृद्धि र व्यवसायिक वातावरण सुधार गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक विचार आदानप्रदान भएको छ।
वार्तामा दुई देशलाई भौतिक तथा डिजिटल रूपमा जोड्ने सम्पर्क सञ्जाल (कनेक्टिभिटी) का परियोजनाहरूलाई गति दिने र ऊर्जा क्षेत्रको साझेदारी अन्तर्गत विद्युत् व्यापार तथा प्रसारण लाइन विस्तारका सम्भावनाहरूका बारेमा समेत समीक्षा गरिएको थियो। दुवै देशका उच्च सरकारी अधिकारीहरू सम्मिलित उक्त भेटवार्ताले नेपाल-भारत आर्थिक कुटनीतिलाई नयाँ उचाइ दिने विश्वास लिइएको छ। भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग पनि छुट्टै भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।


प्रतिक्रिया दिनुहोस्