काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार आउने क्रम जारी रहँदा साताको चौथो कारोबार दिन बिहीबार बजार १२ अंक नजिकले बढेको छ। नेपालको सेयर बजार मापक सूचक ११.९३ अंकले उकालो लाग्दै २६२४.३६ विन्दुमा पुगेर बन्द भएको हो। पछिल्लो समय उतारचढावपूर्ण रहेको बजारमा यस दिन खरिदकर्ताको बलियो उपस्थिति देखिएको छ।
परिसूचकसँगै बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। बुधबार ५ अर्ब ३८ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भएकोमा बिहीबार ३३९ वटा कम्पनीको ५१ हजार ७२८ पटकको कारोबारमा ५ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ बराबरको १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर खरिदबिक्री भयो।
बजारलाई आज सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश घोषणाले मुख्य रूपमा डोऱ्याएको देखिन्छ। लाभांशको आकर्षक खबरसँगै लगानीकर्ताको आकर्षण यस बैंकमा झुम्मिँदा सर्वाधिक ३३ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो भने शिवम् सिमेन्ट्स २७ करोड रुपैयाँभन्दा बढीको कारोबारसहित दोस्रो स्थानमा रह्यो।
समग्र बजारमा १७७ वटा कम्पनीको सेयर मूल्य बढ्दा धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै १२.४३ प्रतिशत कमाएका छन्। अर्कोतर्फ, ८५ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन्, जसमा हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य सबैभन्दा धेरै २.९७ प्रतिशतले ओरालो लागेको छ। कुल १३ उपसमूहमध्ये ११ वटामा हरियाली छाउँदा जीवन बीमा उपसमूह सर्वाधिक १.०८ प्रतिशतले बढेको छ भने लगानी र अन्य उपसमूह भने सामान्य घटेका छन्।


प्रतिक्रिया दिनुहोस्