काठमाडौँ – नेपाली कांग्रेसभित्र महाधिवेशनको वैधानिकतालाई लिएर आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ। पार्टीभित्रको संस्थापन इतर पक्ष (विशेष महाधिवेशन पक्षधर) ले आयोजना गर्न लागेको महाधिवेशनलाई लिएर सभापति शेरबहादुर देउवा र संस्थापन इतर समूहका नेताहरू आमनेसामने भएका हुन्।
पार्टी सभापति शेरबहादुर देउवाले एक अपिल जारी गर्दै विशेष महाधिवेशन पक्षधरले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। पार्टीको विधान र प्रक्रिया मिचेर गर्न लागिएको भन्दै देउवाले यस्ता गतिविधिले पार्टीमा थप विभाजन र अराजकता निम्त्याउने चेतावनी दिएका छन्। उनले पार्टीको आधिकारिक निर्णय र वैधानिक जगमा हुने प्रक्रियाको मात्रै अर्थ रहने स्पष्ट पारेका छन्।
अर्कोतर्फ, विशेष महाधिवेशन पक्षधरका नेता गगन थापाले भने छुट्टै अपिल जारी गर्दै सम्पूर्ण कार्यकर्ताहरूलाई कुनै पनि भ्रममा नपरी उच्च मनोबलका साथ महाधिवेशन प्रक्रियामा सरिक हुन आह्वान गरेका छन्। थापाले पार्टीलाई नयाँ गति र नीतिगत रूपान्तरण दिन यो महाधिवेशन अपरिहार्य रहेको उल्लेख गर्दै उत्साहका साथ आ-आफ्नो तहबाट प्रक्रिया सफल पार्न निर्देशन दिएका हुन्। शीर्ष नेताहरूबीचको यो खुला टकरावले तल्लो तहका कार्यकर्ताहरूमा भने महाधिवेशनलाई लिएर थप अन्योल सिर्जना गरेको छ।


प्रतिक्रिया दिनुहोस्