बराहक्षेत्र कांग्रेसमा ‘रोशन खड्का’ युगको पर्खाइ
सुनसरी – नेपाली कांग्रेसको आसन्न नगर अधिवेशन नजिकिंदै जाँदा बराहक्षेत्रको राजनीतिमा अहिले एउटा नाम चर्चाको शिखरमा छ- रोशन खड्का। सुनसरीको बराहक्षेत्र-८ का लोकप्रिय वडा अध्यक्ष खड्का कांग्रेसको बराहक्षेत्र नगर सभापति पदको सशक्त उम्मेदवारका रूपमा अगाडि बढेका छन्। युवा ऊर्जा र परिपक्व अनुभवको उत्कृष्ट संगम बनेका खड्कालाई बराहक्षेत्रका कार्यकर्ता र आम नागरिकले भावी नेतृत्वका रूपमा हेर्न थालेको उनी निकट कार्यकर्ताहरू बताउँछन्।
पुस्तान्तरणको स्पष्ट एजेण्डा र वैचारिक स्पष्टता
पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको एजेण्डालाई प्रस्टसँग उठाएका खड्का केन्द्रीय सभापति गगन थापा निकट मानिन्छन्। नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बराहक्षेत्रबाट सहभागी हुने एक मात्र नगर सभापतिका उम्मेदवार खड्का नै हुन्। अहिलेसम्म बराहक्षेत्र नगरको सभापति भनेर सार्वजनिक भएका दाबेदारहरू कोही पनि विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्। यसले पनि उम्मेदवार खड्कामा पार्टी सुधारको स्पष्ट सोच, वैचारिक दृढता र राष्ट्रिय राजनीतिसँगको सिधा पहुँचलाई पुष्टि गर्छ। विशेष महाधिवेशनमा सहभागी भएर नेतृत्व परिवर्तनको पक्षमा उभिएका खड्का यही एजेन्डा लिएर नगर सभापतिको मैदानमा देखिन्छन्। पार्टीभित्र पुस्तान्तरणको एजेन्डाकै कारण खड्काको उम्मेदवारीलाई कार्यकर्ताले पनि बराहक्षेत्र कांग्रेसमा पुरानो शैलीको निरन्तरता र नयाँ पुस्ताको हस्तक्षेपबीचको प्रतिस्पर्धाका रूपमा हेरिरहेका छन्।
‘युवाहरूको ढुकढुकी’
४० वर्ष पार गरेका खड्का न त कच्चा उमेरका छन्, न त वृद्ध राजनीतिज्ञझैँ निष्क्रिय। राजनीति र समाजसेवाका लागि यो उमेर परिपक्वता र ऊर्जाको सही सन्तुलन हो। उनले आफ्नो वडामा पुर्याएको योगदानका कारण विशेष गरी युवा माझ उनी अत्यन्त लोकप्रिय छन्। वडा अध्यक्षको रूपमा उनले सञ्चालन गरेका अभियानहरू उदाहरणीय छन्। जस्तो कि युवा लक्षित कार्यक्रमहरू : खेलकुद प्रतियोगिताहरूको आयोजना, अतिरिक्त क्रियाकलाप र युवा सशक्तीकरणका लागि निरन्तर पहल। लागुऔषध विरुद्धको प्रभावकारी अभियान चलाएर धेरै युवाहरूलाई सही बाटोमा ल्याउन सफल। स्थानीय स्तरमै विभिन्न सीपमूलक र क्षमता विकास तालिमहरू सञ्चालन गरी युवाहरूलाई उद्यमी र आत्मनिर्भर बनाउन प्रोत्साहन। यिनै कार्यका कारण उनी केवल राजनीतिक नेता मात्र होइनन्, स्थानीय युवाहरूको ढुकढुकी बनेको बताइन्छ।
सङ्कटमा जनविश्वास: भाद्र २४ को त्यो घटना
रोशन खड्काप्रति जनस्तरमा कति गहिरो माया र विश्वास छ भन्ने कुरा गएको भाद्र २४ को घटनाले स्पष्ट पार्छ। बराहक्षेत्रका थुप्रै जनप्रतिनिधिहरूका घरमा जेनजॆहरॊको समूहले आगजनी र तोडफोड गर्दा रोशन खड्काको घर भने पूर्ण रूपमा सुरक्षित रह्यो। “रोशन खड्काको घर जलाउनु हुँदैन, उहाँ हाम्रा लागि काम गर्ने नेता हुनुहुन्छ” भन्दै स्थानीय युवाहरू स्वयं उनको घर अगाडि ढाल बनेर उभिएको खड्का निकट शिशिर तामाङ्ग बताउँछन्। सङ्कटको समयमा जनता र युवाहरूले देखाएको यो संरक्षण खड्काले कमाएको सच्चा राजनीतिक पुँजी हो। ‘कुनै नेताको घर जोगाउन युवाहरू आफैं अगाडि सर्नु सामान्य राजनीतिक घटना होइन। तर रोशन खड्काले वर्षौंदेखि युवासँग गरेको संवाद, सहकार्य र सामाजिक गतिविधिमा सक्रियता देखाएकाले उहाँको घर जलाइएन। यसले पनि रोशन खड्का कांग्रेसमा मात्र नभएर बाहिर पनि रुचाइएका राजनीतिज्ञ हुन् भन्ने पुष्टि गर्छ,’ तामाङ्गले भने।
संगठन विस्तारमा अग्रणी भूमिका
पार्टीलाई परम्परागत घेराबाट बाहिर निकालेर फराकिलो बनाउन खड्काको भूमिका उल्लेख्य छ। यस पटक उनले बराहक्षेत्रमा धेरै मानिसहरू, विशेष गरी स्वतन्त्र र गैर-राजनीतिक पृष्ठभूमि भएका युवाहरूलाई नेपाली कांग्रेसमा भित्र्याउन अहम भूमिका खेलेका छन्। “रोशन खड्काको नेतृत्व, निष्ठा र काम गर्ने शैलीबाट प्रभावित भएर नै हामीले कांग्रेसको सदस्यता लिएका हौँ,” भन्दै भर्खरै कांग्रेसको सदस्यता लिएका धेरै युवाहरूले सामाजिक संजालमा लेखिरहेका देखिन्छन्।
यस्तो पृष्ठभूमिमा राजनीतिक परिपक्वता, स्वच्छ छवि, बलियो संगठन र जनस्तरको अगाध माया भएका रोशन खड्कालाई बराहक्षेत्र कांग्रेसको नगर सभापतिमा विजयी गराउनु भनेको बराहक्षेत्रको समग्र विकास र पार्टीको भविष्य सुरक्षित गर्नु हो भन्नेमा स्थानीय कार्यकर्ताहरू विश्वस्त देखिन्छन्। त्यसमा पनि खड्का आफूलाई केवल उमेरका हिसाबले ‘युवा’ नेताका रूपमा होइन, युवाको भावना बुझ्ने, संगठन चलाउन सक्ने र जिम्मेवारी सम्हाल्ने परिपक्व पुस्ताको प्रतिनिधिका रूपमा प्रस्तुत गरिरहेका छन्।
प्रभावशाली नेताहरूको समर्थन
सबैभन्दा महत्वपूर्ण चाहिं कांग्रेसभित्र पछिल्लो समय पुस्तान्तरण, संगठनको पुनर्संरचना र नयाँ पुस्ताको सहभागिता निरन्तर बहसमा छन्। विशेष महाधिवेशनमा सहभागी भएर पार्टीभित्रको परिवर्तनको बहसलाई नजिकबाट नियालेका खड्का अब त्यसको प्रभाव स्थानीय संगठनमा देखाउन चाहन्छन्। उनको सन्देश स्पष्ट छ- पार्टी बदल्ने बहस केन्द्रमा मात्र सीमित हुनु हुँदैन, त्यसको सुरुवात स्थानीय तहको संगठनबाट पनि हुनुपर्छ। त्यसबाहेक सुनसरीका अभिभाकीय नेता ज्ञानेन्द्र बहादुर कार्की, क्षेत्रीय सभापतिहरू, जिल्ला तहका नेताहरूदेखि ग्रास रुटमा काम गरिरहेका कार्यकर्ताहरूको पनि खड्कालाई समर्थन रहेको उनीनिकट स्रोतको दाबी छ।
‘जीत सुनिश्चित जस्तै छ’
कांग्रेसको १४ औँ महाधिवेशनमा लोकप्रिय मतका साथ प्रतिनिधि महाधिवेशन प्रतिनिधि निर्वाचित भएका खड्काले नेतृत्वदायी भूमिकामा भने काम गर्ने मौका पाएका छैनन्। तर वडा अध्यक्षको रूपमा भने युवाहरूलाई खेलकुद, लागुऔषधविरुद्धका अभियान, अतिरिक्त क्रियाकलाप तथा विभिन्न सीप र क्षमता विकाससम्बन्धी तालिममा जोड दिएर लोकप्रिय पहिचान बनाएका छन्। त्यसले खड्कालाई युवाबीच केवल भाषण गर्ने नेताभन्दा युवाको गतिविधि र सम्भावनामा लगानी गर्ने जनप्रतिनिधिका रूपमा स्थापित गरेको बताइन्छ। युवा, ज्येष्ठ नागरिक, महिला तथा सर्वसाधारण सबैका भावना र समस्यालाई सहजै बुझ्न सक्ने उनको क्षमता नै उनको मुख्य राजनीतिक शक्ति बनेको छ।
हुन पनि उनको पहुँच र पकड स्थानीय राजनीतिमा मात्र सीमित छैन। उनले जिल्ला तहका आम जनतादेखि नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा समेत आफ्नो बलियो र मजबुत पकड कायम राख्दै आएका छन्। वडाको कामलाई लिएर आफ्नै पैसा खर्च गरेर काठमाडौं धाउने अनि योजनाहरू लैजाने उनको पुरानो शैली हो। केन्द्रीय नेतृत्वसँगको निकटता, स्थानीय प्रशासनसँगको सहज समन्वय र सरोकारवाला निकायहरूसँगको मजबुत सम्बन्धकै कारण उनले आफ्ना क्षेत्रका योजना र बजेट प्रभावकारी रूपमा भित्र्याउन सफलता हात पार्दै आएको कुरा छर्लगै छ। नागरिकका साना–तिना समस्यादेखि विकास निर्माणका ठूला मुद्दाहरूमा रात–दिन नभनी खटिने उनको कार्यशैलीका कारण उनी आम जनताकाबीच अत्यन्त लोकप्रिय छन्।
स्थानीयस्तरमा विकासको स्पष्ट खाका भएका, सबै पक्षलाई मिलाएर लैजान सक्ने र पार्टी सङ्गठनलाई तल्लो तहसम्म सुदृढ बनाउने क्षमता भएकाले १५ औँ महाधिवेशनमा बराहक्षेत्रका नेता तथा कार्यकर्ताहरूले खड्काको नेतृत्वलाई उत्साहका साथ हेरिरहेका छन्। बराहक्षेत्रमा पर्ने साविकका भरौल, बराहक्षेत्र, मधुवन, महेन्द्रनगर र प्रकाशपुर गाविसलाई नजिकबाट मिहीन ढंगले विश्लेषण गर्नसक्ने क्षमता बोकेका खड्का नगर सभापति मात्र नभएर आगामी दिनहरूमा त्यसभन्दा माथिसम्मै पुग्ने कस्ता भएका नेता हुन् भन्ने उनका समर्थकहरूको दाबी छ।
यससँगै गगन थापासँगको राजनीतिक निकटता र विशेष महाधिवेशनमा सहभागिताले सबैभन्दा बलियो रूपमा खड्कालाई कांग्रेसको बदलिँदो राजनीतिक धारसँग जोडिएको उम्मेदवार भनिएको देखिन्छ। बराहक्षेत्र कांग्रेसमा अबको नेतृत्व कस्तो हुने भन्ने प्रश्नको उत्तर खोजिँदै गर्दा रोशन खड्काले आफूलाई त्यसको एउटा स्पष्ट विकल्पका रूपमा उभ्याएका छन्। उनको राजनीति अहिले एउटा पदको प्रतिस्पर्धामा सीमित छैन। त्यो पुरानो पुस्ताको अनुभवलाई नयाँ पुस्ताको ऊर्जा र आकांक्षासँग जोड्ने प्रयासका रूपमा प्रस्तुत भइरहेको छ। यस्तोमा खड्का आफैं भने आफूले नागरिक र पार्टी कार्यकर्ताको लागि अहिलेसम्म गर्दै आएको कामका कारण उनीहरूको विश्वास जित्नेमा ढुक्क देखिन्छन्। उनी भन्छन्, ‘मैले आजsम्म जेजति गर्दै आएको छु, त्यसको मूल्याङ्गकन नेता-कार्यकर्ताहरूले गर्नुहुनेछ भन्नेमा विश्वस्त छु, उहाँहरूले भनेअनुसार हो भने जीत निश्चित छ।’


प्रतिक्रिया दिनुहोस्