काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। उतारचढावका बीच नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा झरेर बन्द भएको हो। बजार परिसूचकसँगै आज कारोबार रकममा पनि केही गिरावट आएको छ। दिनभर कुल ३४१ कम्पनीका १ करोड ५ लाख ८८ हजार कित्ता सेयर ४४ हजार १९८ पटक किनबेच हुँदा ४ अर्ब ९ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन बजारमा ४ अर्ब १९ करोड रुपैयाँको सेयर खरिद-बिक्री भएको थियो।
बिहीबारको बजारमा अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कुल १९९ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ६८ कम्पनीको मूल्य मात्र बढ्न सक्यो भने ११ कम्पनीको मूल्य यथावत रह्यो। आज बजारमा रहेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा धेरै १.१४ प्रतिशतले ओरालो लागेको छ।
बजार समग्रमा घटे पनि लिबर्टी इनर्जी कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण निकै उच्च देखियो। यस कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। सोही कम्पनी ४५ करोड ४८ लाख ८८ हजार रुपैयाँको कारोबारसहित रकमका आधारमा पनि बजारको शीर्ष स्थानमा रहन सफल भयो। त्यस्तै, आजको बजारमा सिन्धु विकास बैंकका सेयरधनीहरूले सबैभन्दा धेरै नोक्सानी बेहोरेका छन्। यस बैंकको सेयर मूल्य १४.९८ प्रतिशतले घटेको छ।


प्रतिक्रिया दिनुहोस्