बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०८३, आईतवार
2 Min Read
Aa

वीरगञ्ज – भोटेकोशी बाढीमा परी बेपत्ता भएका आफन्तको खोजी तथा उद्धारका लागि निरन्तर पहल गरिरहेका बारा, परवानीपुर गाउँपालिका–१ निवासी तथा राष्ट्रिय एकता दलका जिल्ला सदस्य अवधेश मण्डललाई प्रहरीले पक्राउ गरेको घटनाप्रति राष्ट्रिय एकता दलले गम्भीर आपत्ति जनाएको छ।

राष्ट्रिय एकता दलका मधेश प्रदेश सचिव दिलीप गुप्ताले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत मण्डललाई तत्काल रिहा गर्न माग गरेका हुन्।

- Advertisement -
Ad image

दलका अनुसार बाढीमा आफ्ना सालो बेपत्ता भएपछि मण्डलले खोजी तथा उद्धारका लागि सम्बन्धित क्षेत्रका सांसद रहबर अन्सारीसँग पटक–पटक सहयोगको आग्रह गरेका थिए। तर अपेक्षित सहयोग नपाएपछि पीडित अवस्थामा उनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि र आक्रोश व्यक्त गरेका थिए।

दलले विपद्को समयमा आफन्तको जीवनरक्षाका लागि जनप्रतिनिधिसँग जवाफदेहिता माग गर्ने पीडित नागरिकलाई नै पक्राउ गर्नु गैरजिम्मेवार तथा निन्दनीय कार्य भएको जनाएको छ।

राष्ट्रिय एकता दलले सरकार र प्रशासनसमक्ष पक्राउ परेका अवधेश मण्डललाई विना शर्त तत्काल ससम्मान रिहा गर्न, भोटेकोशी बाढीमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन र राहत व्यवस्थापन प्रभावकारी बनाउन माग गरेको छ।

त्यस्तै, नागरिकको असन्तुष्टि दबाउन प्रहरी शक्तिको दुरुपयोग गरिएको भए त्यसबारे छानबिन गरी दोषी देखिएका सांसद तथा सम्बन्धित निकायमाथि आवश्यक कारबाही गर्न पनि दलले माग गरेको छ।

दलले प्रधानमन्त्री बालेन शाहले विपद् पीडितले सरकारप्रति आलोचना वा असन्तुष्टि व्यक्त गरेकै आधारमा कारबाही नगर्न दिएको निर्देशन तथा नीतिको समेत उक्त गिरफ्तारीबाट उल्लंघन भएको दाबी गरेको छ।

राष्ट्रिय एकता दलले नागरिकको वाक् स्वतन्त्रता तथा विपद् पीडितको न्यायका पक्षमा पार्टी दृढतापूर्वक उभिएको स्पष्ट पार्दै अवधेश मण्डललाई अविलम्ब रिहा नगरिए सशक्त संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्