काठमाडौँ – काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसाले वृद्धि गरिएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि नेपाल आयल निगम र ग्यास उद्योगीहरूको सहमतिमा यो मूल्य बढाइएको हो। यसअघि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ रहेको ग्यासको मूल्य अब उपभोक्ताले २ हजार १६५ रुपैयाँ ३८ पैसा तिर्नुपर्ने भएको छ। विपद्को समयमा भएको यो मूल्यवृद्धिलाई उपभोक्ताहरूले आयल निगम र उद्योगीहरूको मिलेमतोको रूपमा हेरेका छन्।
कृष्णभीरमा सडक कटान भई यातायात ठप्प भएपछि ग्यास बुलेटहरू सिधै काठमाडौँ आउन नसकेका कारण मूल्य बढाउनु परेको व्यवसायीहरूको दाबी छ। हाल काठमाडौँका उद्योगहरूले तराईका जिल्लाहरूमा खाली सिलिन्डर पठाएर रिफिल गरी वैकल्पिक र लामो मार्गबाट ट्रकमार्फत ग्यास ल्याइरहेका छन्। नेपाल आयल निगमले उद्योगदेखि ५० किलोमिटरभन्दा बढी दूरीमा ढुवानी गर्दा उद्योगीहरूले आफैँ भाडा जोड्न पाउने कानुनी प्रावधान रहेको भन्दै यो वृद्धिलाई स्वभाविक ठानेको छ। नेपाल एलपी ग्यास उद्योग संघले वैकल्पिक मार्ग प्रयोग गर्दा वास्तविक खर्च प्रतिसिलिन्डर २०० रुपैयाँभन्दा बढी लागे पनि नियमअनुसार १०५ रुपैयाँ ३८ पैसा मात्र थप गरिएको जनाएको छ।
यसैबीच, उपत्यकामा ग्यासको चरम अभाव हुन नदिन आयल निगम र ग्यास बिक्रेता महासंघले केही आपत्कालीन नियमहरू लागू गरेका छन्। जसअनुसार होटल तथा रेस्टुरेन्ट जस्ता व्यावसायिक क्षेत्रमा ग्यास बिक्री गर्न तत्काल रोक लगाइएको छ। उपलब्ध ग्यास घरायसी उपभोक्ता, बाढीपीडितका सेल्टर, विद्यार्थी र ज्येष्ठ नागरिकहरूलाई मात्र समानुपातिक ढंगले वितरण गरिनेछ। साथै, परिस्थिति सामान्य नभएसम्म बजारमा नयाँ सिलिन्डर बिक्री नगर्न समेत व्यवसायीहरूलाई निर्देशन दिइएको छ।


प्रतिक्रिया दिनुहोस्