काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र सांगठनिक टकराव उत्कर्षमा पुगेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा समूहको महत्त्वपूर्ण बैठक आज बस्दैछ। वर्तमान संस्थापन पक्ष (सभापति गगन थापा समूह) ले आगामी असोजमा १५ औँ महाधिवेशन गर्ने गरी तयारी तीव्र पारेपछि त्यसको प्रतिवाद र समानान्तर रणनीतिका लागि देउवा समूह छलफलमा जुट्न लागेको हो। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको समितिको आयोजनामा बुधबार दिउँसो १ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक तय गरिएको छ।
सर्वोच्च अदालतले संस्थापन पक्षको महाधिवेशन कार्यतालिका रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेपछि देउवा पक्षले असोज पहिलो साताबाटै आफ्नै वडा अधिवेशन सुरु गर्ने गरी समानान्तर कार्यतालिका ल्याउने गृहकार्य गरेको छ। सचिवालय समन्वय समितिका अनुसार आजको बैठकमा १५ औँ महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषय र आन्तरिक संगठन सम्बन्धी विविध एजेन्डामा छलफल हुनेछ। बैठकमा १४ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा देउवा समूहका आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ। संस्थापन पक्षले भदौ १९ सम्म क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद दिए पनि प्रक्रियामा असहमति जनाउँदै देउवा समूहले यसलाई अस्वीकार गर्दै आएको छ।
पार्टी विभाजन र समानान्तर संरचनाको जोखिम बढेपछि मध्यमार्गी नेता डा. शेखर कोइरालाले मंगलबार मात्रै आफ्नै समूहका र देउवा निकट केही नेताहरूलाई समेटेर सहमतिको प्रयास स्वरूप आन्तरिक छलफल गरेका छन्। उता संस्थापन पक्षका महामन्त्री प्रदीप पौडेलले पार्टीको बृहत्तर हित र एकताका लागि असन्तुष्ट समूहलाई समेट्न संवाद भइरहेको र कोही पनि साङ्गठनिक प्रक्रियाबाट वञ्चित हुन नपरोस् भन्नेमा आफूहरू संवेदनशील रहेको बताएका छन्। अदालतबाट पार्टीको आधिकारिकता विवाद पूर्ण रूपमा टुङ्गो नलागेसम्म महाधिवेशन गर्न नमिल्ने देउवा समूहको अडानका कारण कांग्रेसभित्रको सांगठनिक संकट थप गहिरिएको छ।


प्रतिक्रिया दिनुहोस्