काठमाडौँ – संयुक्त राष्ट्र संघको ८१औँ महासभामा नेपालको तर्फबाट प्रधानमन्त्री बालेन शाह सहभागी नहुने भएका छन्। अमेरिकाको न्युयोर्कमा आयोजना हुने उक्त महासभामा अब परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नेछन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनालको नेतृत्वमा महासभामा भाग लिन जाने नेपाली प्रतिनिधि मण्डललाई औपचारिक स्वीकृति प्रदान गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै प्रधानमन्त्रीको सट्टा परराष्ट्रमन्त्रीको नेतृत्वमा टोली न्युयोर्क जाने जानकारी दिए।
विगतका वर्षहरूमा विशेष परिस्थितिबाहेक सामान्यतया संयुक्त राष्ट्र संघको महासभामा नेपाली टोलीको नेतृत्व स्वयं प्रधानमन्त्रीले गर्ने प्रचलन रहँदै आएको थियो। आगामी २२ देखि २८ सेप्टेम्बरसम्म आयोजना हुने यस महासभामा नेपालको सहभागिता र सम्बोधनलाई अब परराष्ट्रमन्त्री खनालले नै अघि बढाउनेछन्।
प्रधानमन्त्री शाह महासभामा सहभागी नहुनुको ठोस राजनीतिक वा प्राविधिक कारणबारे सरकारले विस्तृत विवरण भने खुलाएको छैन।


प्रतिक्रिया दिनुहोस्