कोलम्बियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ श्रावण २०८३, बुधबार
2 Min Read
Aa

काठमाडौं – कोलम्बियामा गएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य अझै जारी छ । उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरुको खोजी र उद्धारका लागि दिनरात खटिरहेका छन्।

पछिल्लो जानकारी अनुसार भूकम्पमा परी १८० भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। सबैभन्दा बढी क्षति काली र पेरेरा सहरमा भएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

- Advertisement -
Ad image

गत सोमबार बिहान ७ः३४ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका धक्का पश्चिमी कोलम्बियाका सयौं माइल टाढासम्म महसुस गरिएको थियो । मंगलबार पनि भूकम्पपछि आउने परकम्पहरू महसुस भएका थिए।

सरकारी तथ्यांकअनुसार मृतकको संख्या १८१ पुगेको छ । तर, स्थानीय अधिकारीहरूले उपलब्ध गराएको तथ्यांकसमेत जोड्दा मृत्यु हुनेको संख्या २४० भन्दा बढी हुन सक्ने समाचार संस्थाहरुले जनाएका छन् । राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले देशमा आपत्काल घोषणा गरेका छन् ।

राष्ट्रपति मंगलबार सबैभन्दा बढी प्रभावितमध्ये एक पेरेरा सहर पुगेका थिए। त्यस क्रममा उनले भूकम्पमा परी करिब २ हजार ६ सय जना घाइते भएको र झन्डै २ सय जना अझै बेपत्ता रहेको जानकारी दिए। उनका अनुसार भूकम्पमा १ हजार १ सयभन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ८ हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।

सोमबार रातिदेखि मंगलबार बिहानसम्म पेरेरा र कालीलगायतका सहरमा धेरै मानिसले खुला आकाशमुनि रात बिताएका थिए। केही मानिसका घर पूर्ण रूपमा ध्वस्त भएका थिए भने कतिपयले भवनहरू पुनः भत्किन सक्ने डरका कारण घरभित्र प्रवेश गरेका थिएनन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्