काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। उतारचढावका बीच नेप्से परिसूचक २१.१५ अंकले घटेर २,६६३.१८ विन्दुमा ओर्लिएको हो। बजार घट्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा संकुचन भई ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैयाँमा सीमित भएको छ।
आज बजारमा कुल ३४३ कम्पनीका १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर खरिदबिक्री भए। कारोबारमा आएका कम्पनीहरूमध्ये जम्मा ५९ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो। आज बजारका सबै १३ वटै उपसूचकहरू ऋणात्मक बनेका छन्, जसले समग्र बजारमा बिक्रेताको चाप बढी रहेको देखाउँछ।
यस दिन एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक १३.४३ प्रतिशतले गुमाएका छन्। त्यस्तै, खानीखोला हाइड्रोपावरको सबैभन्दा बढी ४० करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस्