आज विश्व मस्तिष्क दिवस: विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ श्रावण २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौं – आज जुलाई २२ अर्थात् विश्व मस्तिष्क दिवस विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । मस्तिष्कसम्बन्धी रोगबारे जनचेतना फैलाउने, सामाजिक विभेद अन्त्य गर्ने र सबै नागरिकको उपचारमा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस सन् २०१४ देखि विश्व स्नायु विज्ञान महासङ्घको पहलमा मनाउन थालिएको हो ।

यस वर्षको विश्व मस्तिष्क दिवसको नारा ‘सबैका लागि मस्तिष्क स्वास्थ्य’ रहेको छ । विश्वभर ३ अर्ब ४० करोडभन्दा बढी मानिस विभिन्न स्नायु तथा मस्तिष्कसम्बन्धी रोगबाट प्रभावित रहेको अवस्थामा उपचार सेवामा रहेको असमानता हटाउँदै सबैलाई समान अवसर उपलब्ध गराउने सन्देश यस वर्षको अभियानले दिएको छ ।

- Advertisement -
Ad imageAd image

अभियानले समयमै रोग पहिचान, प्रारम्भिक उपचार, रोगको रोकथाम, स्थानीय स्वास्थ्य सेवाको सुदृढीकरण तथा मस्तिष्क स्वास्थ्यलाई प्राथमिकतामा राख्ने नीतिगत सुधारमा जोड दिएको छ। विशेषगरी दुर्गम तथा स्रोतसाधनको अभाव भएका क्षेत्रमा पनि गुणस्तरीय उपचार सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

विश्व स्नायु विज्ञान महासङ्घका अनुसार मस्तिष्कसम्बन्धी रोग विश्वमा अशक्तताको प्रमुख कारणमध्ये एक बनेको छ। त्यसैले उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी समस्याको नियन्त्रण, नियमित शारीरिक व्यायाम, स्वस्थ खानपान तथा स्वस्थ जीवनशैली अपनाउन सके दीर्घकालीन रूपमा मस्तिष्क स्वास्थ्य जोगाउन महत्वपूर्ण योगदान पुग्ने विज्ञहरूले बताएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्