काठमाडौँ – पुँजी बजार तथा धितोपत्र व्यवसायमा देखिएका समस्या समाधान गर्न सरकारले विशेष अग्रसरता देखाएको छ। सोमबार सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र पुँजी बजारक्षेत्रका प्रमुख सरोकारवाला प्रतिनिधिहरूबीच एक गहन छलफल सम्पन्न भएको छ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले धितोपत्र व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बजारका समस्या समाधानका नाममा नयाँ समितिहरू गठन गरेर काममा ढिलाइ गर्नुभन्दा सम्बन्धित निकायहरूलाई नै तत्काल काम अगाडि बढाउन निर्देशन दिइने स्पष्ट पार्दै व्यवसायीका जायज मागहरू तत्काल कार्यान्वयनमा लैजाने आश्वासन दिनुभएको छ।
सो अवसरमा बजार सरोकारवालाहरूले पुँजी बजारलाई सन्तुलित बनाउन र लगानीकर्ताको मनोबल उकास्न प्रधानमन्त्री समक्ष विभिन्न महत्वपूर्ण सुझावहरू पेश गरेका थिए। उनीहरूले करसम्बन्धी विद्यमान अस्पष्टता हटाएर घाटा समायोजन (Loss Set-off) गरेपछि मात्र कर असुल गर्ने व्यवस्था मिलाउन र नेपाल राष्ट्र बैंकले ब्रोकरहरू मार्फत मार्जिन लेन्डिङ सञ्चालनका लागि आवश्यक नियम तुरुन्त जारी गर्नुपर्ने माग राखेका छन्।
यसैगरी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गरी प्रविधियुक्त बनाउनुपर्ने, बजारमा उच्च दक्ष जनशक्ति भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने र नेपाल धितोपत्र बोर्डले हाल कार्यान्वयनमा रहेको १० कित्ते नीति पुनरावलोकन गर्नुपर्ने मागसमेत छलफलमा उठेको छ। व्यवसायीहरूले योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ ल्याउने व्यवस्था मिलाउन विशेष जोड दिएका छन्।
उक्त महत्वपूर्ण बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ तथा वित्तीय क्षेत्रका विज्ञ प्रियाराज रेग्मीलगायतको सहभागिता रहेको थियो। धितोपत्र बोर्डमा भएको नयाँ नेतृत्वको आगमन र सरकारी तहको यो सक्रियताले गर्दा सेयर बजारमा समेत सोमबार नै ४१.७० अंकको उत्साहजनक वृद्धि देखिएको छ।


प्रतिक्रिया दिनुहोस्